नेपालमा बीसौं वर्षदेखि सुस्त आयोजनाले अब गति लिन्छन्: कल्याणी खड्का

नेपालमा बीसौं वर्षदेखि सुस्त आयोजनाले अब गति लिन्छन्: कल्याणी खड्का
कल्याणी खड्का
सभापति, संसद्को विकास तथा प्रविधि समिति
संसद्को विकास तथा प्रविधि समिति सरकारको सफलता–असफलतासँग पनि जोडिएको समिति हो । आठ वटा राष्ट्रिय गौरवका आयोजनालाई निर्देशन दिन सक्ने र चार वटा मन्त्रालयसमेत मातहतमा रहेको यो समिति शक्तिशाली मानिन्छ । अहिले यो समितिको जिम्मेवारी कल्याणी खड्काको काँधमा छ । खड्कासँग समितिले गरेका काम, गतिविधिलगायतका विषयमा केन्द्रित भएर मोहन बास्तोलाले गरेको कुराकानी—
 
संसद्को विकास तथा प्रविधि समिति निकै शक्तिशाली मानिन्छ । यही समितिको तपाईं सभापति । यो जिम्मेवारीलाई चाहिं कसरी लिनुभएको छ ?
सबै समितिको आ–आफ्नै जिम्मेवारी छ । जिम्मेवारीको हिसाबले कुनै पनि समिति कमजोर छैनन् । जहाँसम्म मैले नेतृत्व गरेको समितिको कुरा छ । स्वाभाविकै रुपमा यो समिति पनि महत्वपूर्ण नै हो । नेपालको विकास निर्माणको हिसाबले हेर्ने हो भने पनि यो समिति अझ महत्वपूर्ण मानिन्छ । जनताको सरोकार राख्ने हिसावले पनि यो महत्वपूर्ण छ । म असोजको पहिलो हप्ता विकास समितिको सभापति भएर आएपछि यो बीचमा दशैँ, तिहार, छठ जस्ता पर्वका कारण त्यति धेरै भनेजसरी काम गर्न पाइएन । अहिले काम तीव्र गतिमा अघि बढेका छन् । 
 
तीव्र रुपमा अघि बढेको भन्नुभयो । हामीले यो–यो गरेका छौँ भन्ने पनि त होला नि ?
निश्चय पनि हामी अहिले योजनाबद्ध ढंगले नै अघि बढेका छौँ । अहिलेसम्म २१ भन्दा बढी बैठक बसिसकेका छौँ । मेरो समितिअन्तर्गतमा भौतिक पूर्वाधार, उद्योग, शहरी विकास, खानेपानी, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र पुनर्निर्माण प्राधिकरण पर्दछन् । मैले सभापतिको जिम्मेवारी सम्हालेपछि ती सबै मन्त्रालय र पुनर्निर्माण प्राधिकरणसँग बसेर विभिन्न चरणमा छलफल गर्ने, त्यहाँका गतिविधिहरु कसरी अघि बढेका छन् । त्यसको जानकारी लिने र कामको गति अघि बढाउने निर्देशन दिनेलगायतका काम भएका छन् । हामीले उहाँहरुसँग बसेर भावी योजनाका बारेमा पनि मिहिन ढंगले छलफल गरेका छौँ । 
 
तपाईंको मातहतमा त राष्ट्रिय गौरवका आठभन्दा बढी आयोजनाहरु पनि छन् । तिनीहरुका बारेमा पनि त केही छलफल भएको होला । कसरी अघि बढ्ने भन्ने विषयमा पनि योजनाहरु बनेका होलान् ?
मेरो मातहतमा राष्ट्रिय गौरवका आठ वटा आयोजनाहरु जस्तै मेलम्ची खानेपानी, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, कर्णाली करिडोर, फाष्ट ट्र्याक, पूर्व–पश्चिम रेलमार्गलगायतका आयोजना छन् । यी आयोजनाहरु बीसौँ वर्षदेखि एकदमै सुस्त गतिमा अघि बढेका थिए । अब यी आयोजनालाई द्रुत गतिमा अघि बढाउने र समृद्ध नेपाल निर्माणको अभियानमा सहयोगी बनाउने गरी लागेका छौँ । यो हामी सबैको गौरवको कुरा पनि हो । हामीले हरेक छलफलमा यी आयोजनालाई कसरी निर्धारित समयमै सक्छौँ भनेर छलफललाई केन्द्रित गर्दै अघि बढेका पनि छौँ । 
 
ती आयोजनाका बारेमा अनुगमन गर्ने, के समस्या छ भनेर खोज्ने जस्ता काम पनि त गर्नुभएको होला नि ?
हो, हामी ती काममा पनि सक्रियताका साथ लागेका छौँ । हामीले केही दिन अघि मात्रै फाष्ट ट्र्याकको अनुगमन गर्ने काम सम्पन्न गरेका छौँ । अन्य आयोजनाहरु पनि कसरी अघि बढेका छन् । समस्या के छ भनेर हामीले आयोजना स्थलमै पुगेर स्थलगत अनुगमन पनि गरेका छौँ । हामी यी आयोजनाहरु निर्धारित समयमा सम्पन्न हुन सक्छन् भन्नेमा आशावादी छौँ ।
 
फाष्ट ट्र्याकको अनुगमनमा जानुभयो । त्यहाँ केही विवाद रहेको पनि सुनिने गरेको छ । त्यसैगरी मेलम्ची काठमाडौंवासीको सपना हो । यहाँ पनि पछिल्लो अवस्थालाई हेर्ने हो भने निकै धेरै समस्या देखिएको छ । यो विषयमा चाहिं के भइरहेको छ ?
फाष्ट ट्र्याक ०६८ सालमा शिलान्यास भएको सडक हो । फाष्ट ट्र्याक नेपालको आर्थिक समृद्धिसँग पनि जोडिएको छ । त्यसैले यो सडकलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्छ भन्ने सबैतिरको माग छ । हामी पनि त्यही भनिरहेका छौँ । अहिले फाष्ट ट्र्याकको काम नेपाली सेनाले जिम्मा लिएको छ र विगतको भन्दा तीव्र गतिमा काम अघि बढेको छ । हामीले चार वर्षभित्र त्यो सम्पन्न गर्नका लागि के–के कुरा आवश्यक हुन्छ, हामीलाई भन्नुहोस् हामी व्यवस्था गर्न तयार छौँ भनेका छौँ । हामीले नेपाल सरकारलाई पनि त्यही खालको आग्रह गरेका छौँ । मलाई आशा छ, त्यो काम निर्धारित समयमै सम्पन्न हुन्छ । 
 
मेलम्चीको कुरा नि ?
मेलम्चीको पछिल्लो अवस्थाका बारेमा तपाईं–हामी सबैलाई जानकारी भएकै कुरा हो । हामीले पटक–पटक मन्त्रालय र आयोजनालाई बोलाएर छलफल गरेका छौँ । कसरी अघि बढ्ने भनेर हामीले मनग्ये छलफल पनि गरेका छौँ । मैले तोकेरै भनेको छु । हामीले मेलम्चीलाई आयोजना सम्पन्न गर्न के निर्देशन दिनुपर्छ ? के गर्नुपर्छ ? भन्नुहोस् । तर, आयोजना छिटो सम्पन्न हुनुपर्छ र काठमाडौँवासीले मेलम्चीको पानी जतिसक्दो छिटो खान पाउनुपर्छ । उहाँहरुले पनि यसलाई गम्भीर रुपमा लिनुभएको छ । 
काठमाडौँमा काठमाडौँवासी मात्र छैनन् । यहाँ ७७ वटै जिल्लाका नागरिक बसोवास गर्दै आएका छन् । त्यसैले यो आयोजना सम्पन्न हुनु भनेको ७७ वटै जिल्लामा सन्देश जानु पनि हो । हामीले यसकारण पनि यो आयोजना छिटो सम्पन्न होस् भन्ने चाहेका छौँ र निर्देशन पनि हामीले त्यहीअनुसारको दिएका छौँ । मलाई आशा छ । खानेपानी मन्त्रालय र नेपाल सरकारले पनि यही तयारीका साथ अघि बढ्ने छ । बीचमा केही समस्या देखिए पनि हामी ती सबै समस्यालाई हटाएर काम अघि बढाउँछौँ । 
त्यहाँ केही समस्या पनि देखिएका छन् । पटक–पटक पानी आउँछ भन्ने तर, त्यो मितिमा पानी नआउने समस्या पनि भएको छ । अब त्यसरी पटक–पटक मिति सार्ने होइन । आउँछ भनेको दिन आउनै पर्छ । त्यही ढंगले काम अघि बढ्नुपर्छ । हामीले त्यही भनेका छौँ । केही समय अघि मात्रै खानेपानीका सचिवज्युले २ महिना भित्र मै मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउँछन् भन्नुभयो । तर, त्यो त सम्भव भएन । हो, त्यसैले अब यति–उति महिना होइन । ट्याक्कै कहिले हो, त्यही भन्ने । त्यहि दिन पानी दिने गरी काम गर्नुपर्छ । कुनै पनि कुराको पूर्वानुमान हुन्छ । मेलम्चीमा त्यसको अभाव देखियो । अब त्यस्तो हुँदैन । अहिले पुरानो ठकेदारसँगको सम्झौता तोडेको र नयाँ ठकेदारको खोजी भैरहेको छ । समितिले पनि बोलाएर निर्देशन दिने काम गर्ने नै छ । तर, सरकारले पनि अब छिट्टै यो समस्या समाधानका लागि छिटो बाटो के हुन्छ त्यो खोजेर अघि बढ्नुपर्छ । अरु कुनै पनि विकल्प छैन । अब फेरि पनि टेण्डर खोल्ने, त्यो प्रक्रियामा अघि बढ्ने हो भने आयोजना सम्पन्न हुँदैन । त्यसैले छिटो बाटो खोजेर काम सम्पन्न गर्नुपर्छ । 
 
विकास समितिको काम सरकारको सफलता–असफलतासँग पनि जोडिएको हुन्छ । तपाईं समितिको सभापति यो बारेमा पनि त जानकार हुनुहोला नि ?
हो, मैले अघि पनि भने राष्ट्रिय गौरवका ८ ओटा आयोजना मेरो समितिको मातहतमा छन् । त्यसकारण पनि सरकारको सफलता–असफलतासँग मैले सम्हालेको समिति जोडिनु स्वाभाविक हुन्छ । हामी ती कुराको पनि ख्याल गरेर नै अघि बढेका छौँ । हामी हाम्रो बलबुताले भ्यायसम्म काम गर्छौं ।
No comment yet. Be the first one to comment.

जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग