बेराको डायरी–१७ , प्रवासमा संघर्षको पहिलो खुड्किलो

अच्युत सिग्देल
 
नेपालबाट पेपर मगाएर फाइल गर्दा झण्डै एक महिना बित्यो । हुलाकबाट डकुमेन्ट पठाएको स्ट्याम्पबाहेक कुनै दरिलो तथ्यपरक कागजात थिएन । हुन्छ–हँुदैन त भगवान भरोसा, तर एक महिनापछि पेपर नबनेर पक्राउ परे के गर्ने ? बिदाइमा हल्लिएका हातहरू र बाटोभरि भरोसा बिछ्याएर हेर्ने आँखालाई के जवाफ दिने ?
अमेरिका सपनाको देश भनिन्छ, तर राम्रो सपना देख्न राम्रो निदाउने व्यवस्था हुनुपर्ने रहेछ । तनाव नै तनावबीच देखिने सपना खराब स्वप्नदोष बराबर नै हुने रहेछ । छ महिना अगाडि किस्तीमा राखिएका सम्भावना छ महिनापछि सबै चुकचुकी र थकथकी बन्दा रहेछन् । सुजन, सीमा र ब्रिट्नीहरूका जीवनमा नयाँ वसन्त आइसकेको रहेछ । मौसमभन्दा चाँडै नै बदलिँदो रहेछ पश्चिमी जीवन । जसले विचार र भावनालाई तु कार्यान्वयन ग¥यो, त्यो बन्यो । तर, जसले ढिलासुस्ती ग¥यो, त्यसको जीवन ब्यागेज बनेर नै थिच्दो रहेछ । विषालु काँडा जस्तो पटक–पटक घोचिरहँदो रहेछ । 
एक महिना बितेको थियो,  दिउँसो घरमा ऊ एक्लै थियो । अचानक ढोकाको घण्टी बज्यो । आँखी प्वालबाट ढोका बाहिर के हेरेको थियो, तीन–चार जना पुलिस कुरिरहेका रहेछन् । चिसो पसिना आयो उसलाई । मुख सुकेर आयो । थरथर काँप्न थाले खुट्टाहरू । कसरी खोल्ने ढोका ? हातले चुकुल समाउने शक्ति थिएन । थचक्क बस्यो ऊ । श्वास फुलेर सायद बाहिर नै सुनिन्थ्यो होला उसको धड्कन । एकैपटक राम–सीता, शिव पार्वती, सबै सम्झ्यो उसले । 
ढोका खोल्यो । अगाडि एनवाईपीडी लेखिएको विश्व नम्बर एक पुलिसका अफिसर थिए । उनले डिस्टर्ब गरेकोमा क्षमा मागे । घरमा को–को छ सोधे– हातमा एक फोटो देखाउँदै एक ल्याटिनो मूलको मान्छेका बारेमा सोधे । तल चोरी भएको रहेछ र चोरको हुलिया बोकेर सर्च गर्दै रहेछन् । उसलाई आठ–नौ रेक्टरको मानसिक भूकम्प दिएर गए पुलिसहरू । थचक्क बसेर एक ग्लास पानी पियो उसले मनमनै सोच्यो र आफैँले आफूलाई धिक्का¥यो ‘थुक्क मेरो हैसियत’ ! 
एक महिनापछि काम मिल्यो फुड रनरको रूपमा । मिड टाउनमा नाम चलेको एक ठूलो रेष्टुराँ थियो । पच्चीस–तीस वटा चेन थिए । अन्तर्राष्ट्रिय व्यवस्थापन थियो । फर्सी काटेपछि मात्र भित्री देखिने हो । अमेरिका पनि त्यस्तै नै छ । यहाँका हरेक ठूला नाम पनि बाहिरबाट जस्तो गतिलो छैन । भित्र हल्का खोक्रो नै हुँदो रहेछ । 
प्रत्यक्ष पचास जना कामदार रोजगारमा थिए । व्यवस्थापन दमदार थिएन । एकअर्काको खुट्टा तानातान थियो । ओपनिङ र क्लोजिङबीच समन्वय थिएन । पुराना–सिनियर यति वर्षको अनुभवको कथा सुनाउँथे । फुर्सदको समयमा कुनामा केन्द्रित रहेर गफ फ्याँक्थे । 
भान्सेहरू सर्भरलाई हेप्थे । कसरी मेनेजरलाई असफल पार्ने मिटिङ चल्थ्यो । मालिक कानको कच्चा रहेछ, हरेक दिन मिटिङ चल्थ्यो तर समाधानको पहल नै हुँदैनथ्यो ।  सबै वयस्क थिए, तर विचारमा नाबालक । उसले एउटै विचार लगायो अब यिनीहरूलाई कामले पेल्ने । सबै हल्लिएर खान पल्केकाहरूलाई तह लगाउने उपाय अरूको हल्काफुल्का काम आफैँले गरिदिनु हो । एउटा भेंडा चलेपछि अरू पनि चल्नै पर्छ ।
हरेक पोखरीमा दुई टाइपका माछा हुन्छन् । एक चलायमान माछा जो फूर्तिला हुन्छन्, खानाका लागि संघर्ष गर्छन् तर कुनै माछा बसीबसी खान रूचाउँछन् र अघि परेको साना माछा खाएर रमाउँछन् । हाम्रो समाज यस्तै छ । काम नगर्नेहरू अरूको कामको जस खान्छन् । कोही श्रम खान्छन् । अनेक बहाना र बन्देजको तानाबाना बुन्छन् । ग्रेडिङमा कहिल्यै अरूलाई मौका दिँदैनन् । 
भारत स्वतन्त्र भएको शताब्दी हुन लाग्दा पनि । भारतीय समाजमा एकरूपता छैन । जातजाति विशेष, क्षेत्र विशेष, दिशा विशेष विभेद बाँकी नै छ । वर्गीय आधारमा मूल्याङ्कन गरिँदो रहेछ । दक्षिण भारतीयहरू उत्तरसँग संगत गर्न चाहँदैनन् । उत्तरीहरू एङ्लो इन्डियनलाई घृणा गर्दा रहेछन् । को बोस हुने ? को मालिकको प्रिय रहने खिचातानी चलिरहँदो रहेछ । त्यसैले कर्मबीर र कलरलेस, क्लेशमुक्त नेपालीहरू कार्य प्राथमिकतामा पर्दा रहेछन् । 
फुड रनर त नाम मात्र थियो । चिया कफी बनाउने, चम्चा काँटा पुछ्ने, प्लेट पुछ्ने र आफ्नो सेक्सनको ब्याकअप, सकेर कहिलेकाहीँ सेफको धनियाँ, प्याज र खुर्सानी काटिदिनु उसको दैनिकी थियो । खाना रन गर्नु, सर्भ गर्नु र जुठो भाँडा उठाइदिनु उसको अतिरिक्त क्रियाकलाप थियो । 
दुई महिनामा उसको काम देखियो । सबैले खोज्न थाले । अफिसमा मिटिङ चल्यो । उसको कामको चर्चा भयो । उसलाई क्याप्टेनमा प्रमोशन गरियो । क्याप्टेनको लाइनमा रहेको एक बंगाली भाइ फुड रनर भए । 
बंगालीहरू वाम राजनीतिको प्रभावले होला एक मोर्चा बने । हडताल गर्ने धम्की दिए । उसलाई ठूलो असहयोगको प्रपञ्च बुनियो । उसको गल्तीको लिखत राख्ने काम सुरू भयो ।  
जहाँ दबाब हुन्छ त्यहाँ लगनशीलता बढ्छ र उत्पादन पनि राम्रो हुन थाल्छ । संसारभरको अप्ठ्यारो मान्छेहरूको संगत गरेको अनुभव काम आयो उसलाई । आफू टिक्न ससानाहरू रिझाउन थाल्यो । डिस वासरदेखि भान्सेहरूले हल्का राजनीति बुझे । सबैले सहयोग गर्न थाले । 
तीन महिनापछि जब स्पोन्सर अफर भयो । सोही कम्पनीले दक्ष कामदारका रूपमा (स्किल्ड वर्कर) कुक भिसामार्फत ग्रीनकार्ड बनाइदिने सहमति भयो ।
क्रमश...
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग