डिभोर्स गर्न तयार छु, तर कसरी ?

डिभोर्स गर्न तयार छु, तर कसरी ?
रमेश श्रेष्ठ 
कानुन व्यवसायी, न्युयोर्क 
 
 
रमेश सर, डिभोर्स प्रोसेससम्बन्धी मेरा केही प्रश्न छन् । म अहिले एफ–१ भिसामा छु । सन् २०११ मा म नेपाल गएको बेला मेरो विवाह भयो । सन् २०१३ देखि हामी दुई बीच समस्याहरु पैदा भए । आपसी समझदारीमा क्षय आएकाले दुवै जनाले अलग्गै बस्ने निर्णय ग¥यौं । हामी दलुवैबीच बोलचाल र सम्पर्क पनि बन्द भयो । अब हामी दुवै जनाले आफ्नो जिन्दगीलाई आफ्नै तरिकाले अघि बढाउने निर्णय गरेका छौं । त्यसैले कानूनी तरिकाले सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छौं । मेरो श्रीमान् नेपालमै हुनुहुन्छ र म अमेरिकामै बसिरहेकी छु । मेरो श्रीमान्ले सम्बन्ध विच्छेदका लागि कागजपत्रहरु पठाउने कोसिस गरिरहनुभएको छ र उहाँको वकिलका अनुसार मैले अमेरिकामा रहेको नेपाली राजदूतावासमा गएर आवश्यक कागजातमा सही गर्नुपर्छ भन्ने माग छ । के यो जरुरी छ ? अमेरिकाको कुनै पनि कागजपत्रमा म विवाहित भनेर उल्लेख भएको छैन र मेरो वैवाहिक स्टाटस ‘अविवाहित’ नै छ । मैले नाम पनि परिवर्तन गरेको छैन । म डिभोर्स गर्न तयार छु, तर कसरी सरल किसिमले गर्ने भन्ने थाहा भएन । अब कसरी यो विवाहलाई कानूनी तवरबाट अन्त्य गर्ने भन्ने बाटो बताइदिनुहुन्छ कि ? धन्यवाद ।
– आशा, टेक्सास
 
विवाह तपाईंले नेपालमा या अन्य कुनै ठाउँमा गर्नुभएको होस्, सो विवाह गरेसरह पूर्ण कानूनी मान्यता रहनेछ । कानूनीरुपमा विवाह गरेपछि यदि सो विवाह टिक्न सकेन वा विवाह कायम राख्न श्रीमान् र श्रीमतीलाई मुस्किल भयो वा त्यस विवाहको अर्थ नरहने अवस्था आएको खण्डमा कुनै पनि एक पक्षले पारपाचुके वा सम्बन्ध विच्छेदका लागि सम्बन्धित अदालतमा निवेदन पेश गर्न सक्नेछन् । दुवै पक्षले राजीखुसीसाथ सम्बन्ध विच्छेद मागेको खण्डमा यसको प्रक्रिया सरल र कम समय लाग्न सक्छ भने एक पक्षले सम्बन्ध विच्छेद माग्ने र अर्को पक्षले त्यसको विरोध गर्ने हुन गएको खण्डमा धेरै जटिल र धेरै समय लाग्ने पनि हुन सक्छ । यसका साथै, यदि नाबालक बच्चाहरु र सम्पत्तिसम्बन्धी प्रश्न उठेको खण्डमा सम्बन्ध विच्छेदको कानूनी प्रक्रिया धेरै जटिल हुनेछ ।
तर, तपाईंको केसमा बच्चाहरु नभएको र दुवै जना सम्बन्ध विच्छेद वा पारपाचुके गर्न राजीखुसी भएकाले आवश्यक कानूनी प्रक्रिया पूरा गरेको खण्डमा तपाईंहरुको विवाहलाई कानूनी तरिकाले समाप्त गर्नलाई खासै कठिनाइ हुने छैन । तपाईंको श्रीमान्ले नेपालमा पारपाचुकेको प्रक्रिया शुरु गर्नुभएको खण्डमा तपाईं अमेरिकामै भए पनि नेपालमा केस दर्ता भएको कागजातहरुको तपाईंले प्राप्त गरेको र तपाईंले उक्त पारपाचुकेको निर्णय नेपालको अदालतले तपाईंको श्रीमान्ले माग गरेअनुसार निर्णय गरी वैवाहिक सम्बन्ध विच्छेद गराएको खण्डमा तपाईंलाई पूर्ण मञ्जुर छ र त्यसमा कुनै दाबी विरोध गर्नु हुनेछैन भनी नेपालको परराष्ट्र मन्त्रालयअन्तर्गतको अमेरिकामा रहेको निकाय वा राजदूतावास वा महावाणिज्य दूतको कार्यालयमा गई कानूनी रीत पुगेको कागजपत्रमा दस्तखत गर्नुभएको खण्डमा त्यस कागजातका आधारमा नेपालको अदालतले तपाईंहरुको विवाह समाप्त भएको भनी निर्णय गरिदिनेछ । त्यसैले तपाईंको श्रीमान्को वकिलले नेपाली राजदूतावासमा गएर आवश्यक कागजपत्रमा सही गर्नुपर्छ भनेको सही र आवश्यक कुरा हो । अब तपाईंको अर्को प्रश्न उत्तरमा तपाईंले अमेरिकी अध्यागमन वा अमेरिकी निकायहरुमा विवाहित भनेर जिकिर वा उल्लेख नगरे तापनि तपाईं विवाहित भइसकेको मान्छेले अविवाहित छु भनेर बस्न व्यावहारिकरुपमा ठीक नहुने हो भने कानूनी रुपमा तपाईंले त्यसको नकारात्मक परिणाम पनि भोग्नुपर्ने हुन्छ । जस्तै– विवाहित भएर पनि म अविवाहित वा सिङ्गल हुँ भनेर कुनै कागजातमा वा अध्यागमनको कुनै फाराममा उल्लेख गर्नुभयो र पछि कुनै कारणवश तपाईंको मेरिटल स्टाटस विवाहित भनेर देखा पर्न आयो भने झूटो बोलेको वा फ्रडको बात लाग्न सक्ने पनि हुन सक्छ । त्यसैले यो विवाहलाई कानूनी तवरले समाप्ति गर्ने सुझाव छ ।
रमेश श्रेष्ठ 
कानुन व्यवसायी, न्युयोर्क 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग