मुस्ताङ् टू मिथिला

मुस्ताङ् टू मिथिला
पुरुषोत्तम लम्साल
 
नेचर जर्नलले चार वर्षअघि प्रकाशन गरेको अनुसन्धनात्मक आलेखमा तिब्बतीयन प्लेट वरपरका सभ्यताबारे अध्ययन सामग्री थियो । प्रतिष्ठित जैविक समाजशास्त्रीले गरेको उक्त अनुसन्धान भन्थ्यो, ‘तिब्बतीयन प्लेट र आसपास बसोवास गर्ने मानववस्तीको इतिहास हजार वर्षमा गणना हुन सक्दैन, उनीहरु दशौं हजार वर्षदेखि त्यहाँ अविच्छिन्न बसोवास गर्दै आइरहेका छन् ।’
झट्ट नेशनल जियोग्राफी च्यानलले उपल्लो मुस्ताङबारे प्रसारण गरेको वृत्तचित्रात्मक अध्ययन याद आयो । त्यसमा संकलित पुरातात्विक सामग्रीमा त्यहाँ हजारौं वर्षदेखि वस्ती, ध्यानकेन्द्रको अवशेष पाइएको निष्कर्ष थियो । ९ वर्षअगाडि तेन्ची वा तिजी (ल्हो–मान्थाङ÷उपल्लो मुस्ताङको राजधानीमा मनाइने ऐतिहासिक पर्व) महोत्सवको अवसरमा अग्रज छायाँकार मोहन शाहसँगै उक्त गुफाको माटो र संरचना कोतर्दै अवलोकन गर्ने अवसर मिल्यो । नेशनल जियोग्राफीबाट प्रसारित सामग्री दोहो¥याएर अवलोकन गरियो । अहो !, सभ्यताको गर्तबाट कति बहुमूल्य जिनिस पाएको रहेछौं भन्ने लाग्यो । दुर्भाग्य हाम्रो राज्यसत्तालाई त्यो अवशेष ‘भालुलाई पुराण’ बराबरै भयो ।
देशका नाम चलेका मानवशास्त्री, समाजशास्त्री, पुरातत्वविद्, संस्कृतिविद् समेतबाट संकलित धारणा लिएर हामी पुरातत्व विभाग र पर्यटन बोर्डसम्म पुग्यौं । विभाग र बोर्डलाई त हामी ‘मुर्गा’झैं भएछौं । ज्यू, हजुरी गर्दै दक्षिणा र भेटी चढाउने आदत नभएकाले थान्को लाग्यौं । हजारौं वर्षदेखिको चल्दै आएको (भन्नेले ४ सय वर्ष पनि भन्छन्) आसुरी शक्तिबाट सुरक्षित राख्ने, थान्का देखाउने चलन हाम्रा कर्मचारीतन्त्रलाई झिनामसिना लाग्यो । लाग्यो, साेंचमै कतै विभेदको घर पो छ कि ! उपत्यकाका तीन शहरमा धूमधामले मनाइने मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा दिमागमा आयो । जनश्रुती र जनविश्वासलाई आधार मान्दा पनि तेन्ची यात्रा मल्लकालभन्दा पर पुग्ने रहेछ (८औं शताब्दीका पद्मसम्भवसँगै जोडिएर आउने रहेछ मुस्ताङको किला अभ्यास । मुस्ताङ स्वतन्त्र राज्य भएकै हिसाबमा पनि झण्डै ७ सय वर्ष पुगेछ) । हिमालपारिको सभ्यताको स्वाद राजधानीमा सीमितहरुलाई थाहा भएनछ भन्ने लाग्यो । गर्त उधिन्दै ल्याउँदा सभ्यताका कति अवशेष हिमाली हावाले उडाएको बालुवामा पुरिए होलान् भनेर गम खाइयो । तिब्बतीयन संस्कृति प्रभावित भनेर हामीले मुन्टो बटार्दा त्यसको किस्सामै अरुको लालमोहर लाग्ने सम्भावनातर्फ आँखा चिम्लने प्रवृत्ति जो छ ।
किला अभ्यास, तेन्ची, प्राचीन थान्का र गुफाका हजार मिनेट खिचिएका दृश्य ‘डम्प’ गर्दै मुस्ताङको बिट मारियो । छोदे बिहार र लुरी गुफा मात्र मुस्ताङको पहिचान होइन भन्ने अभियान हावा खायो ।
पाँच वर्षपछि तत्कालीन स्थानीय क्लबका सचिवसँग टेलिफोन संवाद भयो । उनले भनिन्, ‘त्यो विषय त जुन दिन यहाँ आएका मान्छे फर्किए त्यही दिन नै सकियो ।’ ‘कहाँको सम्पदा, कहाँको पुरातत्व, कहाँको पर्यटन, कहाँको संग्रहालय, कहाँको अभिलेखालय’ उनले थपिन्– ‘बरु ल्होमान्थाङको किल्लामा बढ्दो कंक्रिट संरचना र त्यसको स्थानीयतामा बढ्दो संकटबारे बोल्ने मान्छे पनि पाइएन ।’ अर्थात् मुस्ताङको संस्कृति स्थानीय समुदायमा भन्दा विद्यालयका भिक्षु विद्यार्थीको भरोसामा मात्र बाँचिरहेको छ ।
अक्सर हिउँ फल्ने बाटाभरि कुन जमानामा पत्थरमा कुँदिएका अक्षरहरु कुल्चँदै हिंड्ने घोडाका टापहरुको आवाज त उस्तै हो । दिनदिनै हिँड्नेलाई, देख्नेलाई पो मालको महत्व थाहा हुन्न । जुनीमा एकबार पुग्नेलाई त त्यही नै माल हो, जोगाएर राखिदिउँ भन्न शहर र गाउँ दुबै ठाउँको सिंहदरबारको कानमा बतास लागिसकेको रहेनछ । बिष्ट राजकूल हुँदा पनि त्यो अपहेलित नै थियो, राजकूल नरहँदा पनि त्यो त्यत्तिकै बेवास्ताको शिकार रहेछ ।
संसारमा अलग्गै हिमाली सभ्यताको दाबी शुरु भइरहेको छ, हाम्रो हालत त्यस्तो छ । प्रधानमन्त्री केपी ओलीले विदेशी लगानीकर्ताका लागि मात्र नेपाल ‘भर्जिनल्याण्ड’ देखे, हिमालपारिका जिल्ला मानवशास्त्रको, हिमाली सभ्यताको अध्ययनका लागि पनि ‘भर्जिनल्याण्ड’ हो भनेर आह्वान गरिदिए कस्तो हुँदो हो । भलै यो मनको लड्डु मात्रै हो ।
तिब्बत र भारत जोड्ने त्यो प्राचीन मार्गभित्रको राज्यलाई ३१५ वर्षअघि जुम्लीले अधिनमा पारे र नेपाल एकीकरणसँगै देशमा गाभियो । त्यसलाई ७ सालको क्रान्तिले स्थानीय राजाको अधिकार कटौतीमा मात्र छोयो । तिब्बतका उग्रवादी खम्पाले विद्रोहको आधार शिविर वा सेल्टर बनाएपछि (२०३१) पुनः दुनियाँबाट त्यो एक्लियो । प्रजातन्त्रपछि त्यो आंशिक रुपमा खुल्यो तर हिमाली सभ्यताको उत्खनन् अपेक्षाकृत अघि बढेन ।
कालीगण्डकी आफैंमा सभ्यताको प्रस्थानबिन्दु रहेछ भन्यो भने धर्मनिरपेक्ष राज्यका शाषकको निशानामा पर्ने भय छ । कालीगण्डकी र शालिग्रामको विषय हिन्दू सभ्यतासँग जोडिएको रहेछ जसको आयु ७ देखि १० हजार वर्षसम्म पुग्ने रहेछ । वैदिक सभ्यतासँग जोडिएको यो विषयमा आर्यसभ्यताका पारखीले गरेको अध्ययनका अंश खोज्दै जाँदा पनि हामी त कहाँ कहाँ । दक्षिणको प्राचीन भारत वर्षले हजारौं वर्षदेखि श्रद्धाले शिर निहु¥याउँदै आएको कालीगण्डकी सभ्यतामाथि हाम्रा स्थानीय सरकारहरु डोजर र क्रसरको धावा बोल्दैछन् भन्ने सुनेर मन खिन्न भयो ।
तिब्बतीयन प्लेटको आसपास बसोवास गर्नेहरुले प्रयोग गर्ने दुबैतिर धार भएको पत्थरको हतियारसहितको सामग्रीबारे ४ हजार ६ सय मिटर उचाइसम्मको वस्तीमा चिनियाँ अनुसन्धानको निष्कर्ष हामीलाई ‘कागलाई बेल’ भयो । ७ हजार ४ सय वर्ष पहिलेदेखि नेपालका उपल्ला हिमाली क्षेत्रमा मानववस्ती विकास भएको निष्कर्ष त आयो तर नेपालको हिमाली क्षेत्रमा त्यो भन्दा पहिलेदेखि मानववस्ती रहेको अनुसन्धानमूलक सामग्री पनि आउन सक्ने सम्भावना रहेछ । यस्तो बेला मन फुरुंग हुन्छ, शरीरमा काँडा उम्रन्छ ।
पेकिंग विश्वविद्यालयका भू–अनुवांशिकवेत्ता जिया फू जांग र पुरातत्वविद् रोबिन डेन्नलले अनुमान गरेजस्तै पर्वतीय क्षेत्रमा दशौं हजार वर्ष पुरानो सभ्यताको पाइने झल्को हाम्रै नेपाली सभ्यतासँग जोडिएका सामग्री कहिले पो पढ्न पाइएला ?
एकातिर अनुवांशिकवेत्ताहरु हिमवतखण्डको सभ्यता खोतल्दैछन् अर्कोतिर रामायणकालीन वा त्रेतायुगकालीन इतिहासका वैज्ञानिक र प्रामाणिक अनुसन्धानका निष्कर्ष सार्वजनिक भइरहेका छन् । यसको अर्थ हिमालमा हिमाली सभ्यता र समथर फाँटमा तराईको सभ्यतासँग नेपाली मानवशास्त्र जोडिने संयोग बन्दै गरेको देखिन्छ । तर, यो संयोग पनि उही उखानमा सुनिने ‘भिल्लका देशका मणी’सँग मिल्न बेर छैन ।
इस्टोनियन जीवरजैविक केन्द्र र दिल्ली विश्वविद्यालयले चार वर्ष लगाएर गरेको अनुवांशिक अध्ययनले रामायणकालीन युग यथार्थ भएको भन्दै गोन्डस, कोल्स र भिल्ल त्यतिबेलाका आदिवासी रहेको र तिनीहरुको संख्या भारतमा अझै ४० लाख रहेको दाबी गरेको छ । अध्ययन भन्छ– ‘भारतको तेलांगना जिल्लाको अदिलावाद क्षेत्रमा बासिन्दा नै त्रेतायुगकालीन आदिवासीका वंशज हुन् ।’
त्यसो भए मिथिला केन्द्र रहेको त्रेतायुगकालीन हाम्रो मध्यदेश जसलाई मधेश भन्छौं त्यसको सम्बन्ध सपाट वा अझ प्रामाणिक हुने भयो । जनककालीन सभ्यता र अयोध्यासँग सीताकालीन सम्बन्धको तन्तु जोडिने त्यही जनकपुर क्षेत्र हो । नदी र तालकेन्द्रित त्यहाँको सभ्यता मिथक हो कि यथार्थ ? यो प्रश्नको उत्तर अयोध्या र रामायणकालले दिन्छ भने जनक, जनकपुर र सीताकालले पनि उत्तिकै देला । केही भाटहरुलाई याद हुनपर्छ, १० हजार वर्ष अगाडि पनि नेपालको मिथिला जनकपुर क्षेत्र र भारत वर्ष अलग देशका नक्सामा थिए समान हैसियतमा । कसको तागत छ भारतको नक्सामा नेपालको जनकपुर थियो भनेर देखाउन ?
हजारौं वर्षअघिको सभ्यतासँग जोडिएको विषय वैज्ञानिक अध्ययनले प्रमाणित र पुष्टि गर्दछ भने त्यसको प्रतिफल लिन हाम्रो भूमिका के हुने ? जिज्ञासा यही हो ।
भारतीय उपमहाद्वीपमा ६० हजार वर्षदेखिको मानव बसोवास रहेको दाबी छ । इस्टोनियन बायोसेन्टरका ज्ञानेश्वर चौबे, इन्स्टिच्यूट अफ साइन्सटिफिक रिसर्च अन वेदका डा. सरोज बाला, दिल्ली विश्वविद्यालयका राघवेन्द्र रावसहितको टोलीले गरेको अनुवांशिक अध्ययनले रामायणकालीन समाजको पुष्टि गर्छ भने मैथिल सभ्यताको पुष्टि पनि त हुन्छ । ७ हजार वर्षअगाडि वाल्मिकीसृजित संस्कृत रामायणलाई भानुभक्तले नेपालीकरण गर्दा जातको गन्ध सुँघ्दै हिँड्ने पाण्डाहरुलाई मिथिला÷मैथिल सभ्यताको त्यो बिन्दु चाहिँ किन गुदीमा नघुसेको होला ? अचम्म छ ।
 
 
 
 
 
 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग