यत्रो रेकर्ड राख्दा कसैसँग हात थापिन

यत्रो रेकर्ड राख्दा कसैसँग हात थापिन
उज्ज्वल ठकुरी
उज्ज्वल ठकुरी अब साधारण नाम रहेन । असाधारण यस अर्थमा कि साधारण मान्छेले सितिमिती आँक्न नसक्ने रेकर्ड बनाएकाले यति लेख्न मिल्यो । फेसबुकको भित्तामा सधंै गुनासो र असन्तोषका वाक्यहरु लेखिरहने उज्ज्वललाई मैले केही थप सार्वजनिक गर्न खोजेको छु । गिनिज बुक अफ वल्र्ड रेकर्डमा अरुको र आफ्नो गरी ३ ओटा रेकर्ड तोडेर ३ नयाँ कीर्तिमान राख्न सफल मार्शल आर्ट्स खेलाडीलाई सेलिब्रेटीको हैसियत दिएर सबैसामु उनको व्यक्तिगत जीवन र खेलसंघर्षका बारेमा गरिएको भलाकुसारी प्रस्तुत गरेको छु । अमेरिकाको भिर्जिनियामा विगत १५ वर्षदेखि परिवारका साथ बस्दै आएका ठकुरी ४४ वर्षको उमेरमा पनि खुल्ला मार्शल आर्ट प्रतियोगिताहरुमा अझै भाग लिई नै राख्छन् । उमेरले आन्तरिक ऊर्जा र इच्छाशक्तिलाई रोक्दैन । ठकुरीका धेरै अन्तरवार्ताहरु पढें, हेरें । सबैले उस्तै खालका खेल र जीवनका, सफलता र प्रमाणपत्रका, सम्मान र पदवीका कुराहरु गरेका छन् । आज मैले अरुले नसोधेका वा सोध्न नचाहेका केही प्रश्नहरु खेलाडी ठकुरीलाई सोधेर उनका भनाइहरु जस्ताको तस्तै प्रस्तुत गरेको छु—
 
ठकुरीजी सधैं नयाँ गर्न खोज्नुहुन्छ । अब के को तयारी हुँदै छ ?
अर्को तीन ओटा रेकर्ड राख्ने सोंच छ । हेरौं कोसिस हो । राष्ट्रको नाम जति चोटी राखे पनि खराबी के छ ? नेपालीले राख्ने हरेक रेकर्डसँग नेपाल पनि जोडिन्छ । ४४ वर्ष उमेर काटेर मार्शल आर्ट्स विधामा रेकर्ड राख्नु नै एउटा अर्को रेकर्ड पनि बन्छ । रगतको कणकणमा कराँते दौडेको छ, त्यसैले सजिलै पूर्णविराम गर्न सक्दिन ।
 
सफल खेलाडी बन्न के–के चाहिन्छ ?
आफ्नो शरीरको माया मार्न सक्नुपर्छ । राष्ट्रको झण्डा टाउकोमाथि राखेर दृढ संकल्प गर्न सक्नुपर्छ । झण्डा त अनेक बहानामा उठाउने काम गर्छन् तर अरु देशलाई चुनौती दिएर उठाउनु नै खेलाडीको चिनारी हो ।
 
किन अरु विधामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदैन र ?
हुन्छ । तर, खेलकुदले सबै वादलाई भुलाएर सबैलाई एकत्रित पार्दछ । यसले एकता पनि बढाउँछ । मलाई प्रतिस्पर्धामा भिड्न पनि मनपर्छ ।
 
युवा खेलाडीसँग भिड्दा पिटाइ खाइएला कि भन्ने डर लाग्दैन ? 
खेलको मैदानमा खेलाडी र लडाइको मैदानमा देशको सेना उस्तै हुन् । कुटाइ खाला वा मारिएला भन्ने डरले देशको सेना भाग्ने हो भने देशको सुरक्षा कसले गर्ने ? कुटाइ खाला भन्ने डरले खेल नखेल्ने सच्चा खेलाडी हुनै सक्दैन । देशको शान र इज्जतका लागि कुटाइ खान र कुट्न तैयार छु । जब जितमा पदक थापिन्छ, त्यसको मज्जा अर्कै छ ।
 
गिनिज बुकमा नै नाम लेखाउनुपर्छ भन्ने सोच चाहिँ किन आयो ?
विश्व मार्शल आर्ट्समा धेरै देशहरुको नाम अगाडि छ । विश्व कराँते महासंघमा हाम्रो खेलाडी छ, तर विश्व च्याम्पियन बन्न सकेको छैन । गिनिज बुकमा धेरै भारतको खेलाडीहरुले नाम राखेर फुर्ती गरेको देखें अनि मैले त्यो तोड्ने अठोट गरें । सफल भएँ । मैले तिनको रेकर्ड ब्रेक गर्नुका साथै अमेरिकी रब भ्यानड्याम जो २१ चोटी विश्व रेकर्ड राखेको खेलाडी हो, उनको रेकर्ड पनि ब्रेक गर्न सफल भएँ । विश्वका सबै राष्ट्रले मार्शल आर्ट्समा रेकर्ड राख्ने कोसिस गर्छन् तर सबै सफल हुन सकेको छैनन् । नेपाल र नेपालीलाई यो साकार भएको छ ।
 
अमेरिका बसेर नेपाल नेपाल भनेर धेरै नै भनिराख्दा स्वाङ् पारेको जस्तो भएन ?
आफ्नो देशको नाम लिंदा स्वाङ पारेको भनिंदैन । गर्वका साथ भन्न सकिन्छ । जुन देशमा जन्मियो त्यो देशको नाम लिन कहिले नि अन्कनाउनु हुँदैन । आज मेरो पहिचान नेपाली भएर नै भएको छ । म जुन देशमा बसे पनि पहिला नेपाल अनि म उज्ज्वल ठकुरी भन्न चाहन्छु ।
 
नेपाल नै त्यस्तो प्यारो हो भने नेपाल किन नजानुभाको त ?
मैले माथि भनें अर्को ३ ओटा रेकर्ड राख्ने उद्देश्य बोकेको छु र अन्य थप अन्तर्राष्ट्रिय पदकहरु । म यस्तो इतिहास बनाउन चाहन्छु कि न त कसैले सोचेको होस् न त कसैले चाहेर होस् । बस त्यस पछि फर्कन्छु ।
 
किन ? नेपालमा बसेर त्यो सम्भव छैन ?
स्पष्ट कुरा, यहाँ स्रोतसाधनको सुविधा छ । आर्थिक कारणले रोकिनु पर्दैन । साथै मेरो परिवार बालबच्चा पनि छन् । उनीहरुको पनि सोचेर निर्णय लिनुपर्ने हुन्छ ।
 
परिवारले किन यो उमेरमा शरीरलाई सास्ती दिइराखेको भनेर गनासो गर्दैनन् ?
अरुको परिवार जस्तो श्रीमान्लाई फरियामुनि राख्ने मेरो श्रीमती होइन । बहादुर छिन् । गर्व गर्छिन् । मातृभूमिलाई माया गरेकोमा सल्युट गर्छिन् । देशको नाम राख्न जे गर्नु छ गर्नुस् भन्छिन् । हरेक पाइलामा साथ दिन्छिन् ।
 
तपार्इं किन प्रायः सामाजिक सञ्जालमा गुनासो र करकर मात्र लेख्नुहुन्छ ? 
भ्रष्टाचार, बलात्कार, हिंसाविरुद्धको आवाज हो मेरो । हामी नेपालीमा एउटा समस्या छ कि आफ्नो घरमा कसैले आक्रमण गरेपछि बोल्छन् । अरु कसैले आवाज उठायो भने ‘यो किन जान्ने भाको ?’ भन्छन् । असल युवाहरुले के सोच राखे हुन्छ भने ‘राजनीति तपार्इंहरुले गर्नुभएन भने अरु भ्रष्टहरुले तपार्इंलाई राज गर्छ । मनमा लागेको कुरा बोल्दा करकर लाग्छ भने लागोस् ।’
 
कि सम्मान पुगेन भनेर चित्त नबुझेको त होइन नि ?
सम्मान त गिनिज बुकले ‘तँ विश्व रेकर्ड होल्डर हो’ भनेर दिइसकेपछि त्यो भन्दा ठूलो अरु के खोज्ने ? अमेरिकन मार्शल आर्ट एसोसियसनले हलिउडका कलाकारहरु बोलाएर ‘लिजेण्ड अवार्ड’ दिएपछि त्योभन्दा ठूलो के होला ? स्टेटको खेलमा विश्व च्याम्पियन बेल्ट र विश्व टाइटल बेल्ट दिएपछि त्योभन्दा ठूलो के होला र ? २ ओटा अमेरिकी राष्ट्रिय स्वर्ण पदक र अमेरिकी कराँते महासंघको राष्ट्रिय रजत पदकभन्दा ठूलो के होला र ?  तर, हाम्रो समुदायमा समस्या छ कि कसैले ‘म विश्व रेकर्ड राख्न सक्छु, ओलम्पिक रेकर्ड राख्न सक्छु अथवा विश्व च्याम्पियन बन्न सक्छु’ भन्दा पनि कसैले साथ दिँदैनन् । एनआरएनदेखि सबै चुप लाग्छन् ।
 
कतै नेपालीको चाहिँ नपुगेर जुन प्रोग्राममा पनि सम्मान थाप्न मात्र पुगेको हो कि ? अझ पनि सम्मान भएन, सम्झेन भनेर गुनासो गरिराख्नु हुन्छ, कस्तो खालको सम्मान हुनुपर्ने हो ?
तपार्इं मलाई अनावश्यक आरोप नलगाउनुस् । सम्मानको कुरा माथि उल्लेख गरिसकें । मैले कस्तो सम्मान पाएको छु, संसारले देखेको छ । तपाईं त पत्रकार के खाले सम्मान पाए त्यो तपाईंलाई नै थाहा छ । एउटा खादा घाँटीमा र एउटा प्रमाणपत्र त सबै संघसंस्थाले बोलाएर दिएका छन र त्यो सम्मानलाई पनि मैले नमन गरेको छु । मेरो गुनासो एनआरएन अमेरिकातर्फ हो । एनआरएन नेपालीका लागि हो भन्ने तर नेपालीलाई के ग¥यो ? त्यो तपार्इंलाई थाहा होला ।
 
सम्मानको अफर कत्तिको आउँछ ?
यदि म सम्मानको भोगी भएको भए एनआरएन भर्जिनिया च्याप्टरको सम्मान लिन जान्थें होला, तर गइन । अरु कोही सम्मानको भोगी भएर गए होला । म आफ्नै घर ठाउँको व्यक्ति र संस्थाले बोलाएको ठाउँमा समेत सम्मान लिन गइन अब के भन्नु हुन्छ ? कुरो र कुलो जता बंगाए पनि हुन्छ । सम्मान नलिनु पनि अधिकारको कुरो हो र लिनु पनि ।
 
तपाईं घमण्डी कि स्वाभिमानी ? कि दुबै ?
म घमण्डी हैन । तर, मैले देशको नाम राख्न यत्रो संघर्ष गर्दा एनआरएन जस्तो संस्था किन चुप ? अमेरिकाको आरसीले क्यानाडामा खेलाडीलाई फुल स्पोन्सरशिप गर्छ तर अमेरिकामा गर्दैन । यो लाज मर्नु कुरा हो । गलतलाई गलत भन्नु घमण्डी हैन । स्वाभिमानी यसकारण छु कि यत्रो रेकर्ड राख्दा कसैसँग हात थापिन । गर्व गर्छु । जनताको धन लुटेरा खान जानिन र परेन पनि । अरु मूल्यांकन अरुले गरुन् ।
 
गिनिज बुक वल्र्ड रेकर्ड त जेमा पनि बन्छ । जस्तो खालको रेकर्डलाई पनि मान्यता दिन्छ । लाखौं विधामा बाँडिसकेको छ । यो त एउटा संस्थाले दिने रिकग्निशन मात्र होइन र ?
हो, एउटा संस्था हो । अमेरिकाको कराँते महासंघ र विश्वको कराँते महासंघ पनि एउटा संस्था हो । तर, कुन स्तरको संस्था हो त्यो संस्थाको अध्ययन गर्नु जरुरी छ । १५० ओटा राष्ट्रको खेलाडी भएको देश अमेरिका हो । यहाँको ईबी१ भिसा लिन पनि अत्यधिक राम्रो खेलाडीले मात्र पाउँछ । यस्तो देशको व्यक्तिहरुको माझबाट प्राप्त गरेको विश्व रेकर्ड हो । जसले पनि पाउने हो भने १५० राष्ट्रको सबैले प्रत्यक दिन निकाल्न सक्थे होला । कसले रोकेको छ र ? हो, विधा अनेक छन् तर राम्रोभन्दा राम्रो खेल पनि गिनिज बुकले नै रिकग्निशन गरेको छ । उदाहरका लागि बक्सर म्यानी पाकियोदेखि माइक टाइसनसमेत छन् । पावर लिफ्टिङ्मा विश्व रेकर्ड राख्ने व्यक्तिहरु पनि छन् । हलिउडको हिरो जिन क्लाउड भ्यानको पनि नाम छैन । जब कि ऊ स्टार भाको फांग गरेर हो । हुन त केही हगेका मुतेका पादेका जस्ता उट्पट्याङ रेकर्डहरु पनि छन् तर त्यस्ता चिजलाई अरुसँग दाँजेर कुरा गर्न मिल्दैन ।
 
तपाईंलाई मेरो प्रश्नले रिस उठ्यो कि क्या हो ?
प्रश्नको उत्तर नभएकालाई रिस उठ्छ । मसँग मेरो रेकर्डसँग सम्बन्धित सबै किसिमको जवाफ छ । म त कडा काम गर्ने मान्छे, प्रश्न पनि कडै मनपर्छ । सोध्नुस्, के सोध्नु छ ।
 
त्यसो भए यो ओलम्पिकभन्दा पनि ठूलो हो र ?
होइन, यो ओलम्पिकभन्दा ठूलो होइन । तर, ओलम्पिकमा भाग लिने र केही पदक ल्याउन नसक्ने खेलाडीहरुभन्दा ठूलो हो । ओलम्पिकमा रेकर्ड राख्ने प्रत्येक व्यक्तिको नाम गिनिज बुकले नै प्रकाशित गर्छ । हो यो विश्व च्याम्पियनभन्दा ठूलो हैन तर विश्व च्याम्पियनमा भाग लिने तर पहिलो राउण्डमै हार्नेहरुभन्दा धेरै ठूलो हो । यो रेकर्ड बनिसकेपछि दिने भएकाले र संसारले देख्ने गरी छापिने भएकोले ठूलो हो । यो संसारलाई चुनौती दिन सक्ने र संसारको कुनै पनि व्यक्तिले हार जितको खेल गर्न सक्ने भएकोले ओलम्पिक ठूलो हो । ओलम्पिक र विश्व च्याम्पियनमा पनि भाग लिई मेडल ल्याएपछि मात्र नाम रहन्छ । भाग मात्र लिने त प्रत्येक वर्ष कति हुन्छ कति ।
 
आगामी खेल र चुनौतीको लागि शुभकामना !
तपाईं र तपाईंको पत्रिकालाई पनि मेरो भनाइ राख्न दिएकोमा धन्यवाद ! 
 
प्रस्तुती ः योगेश आदी
 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग