समाजसेवा ? अप्प दीपो भवः

समाजसेवा ? अप्प दीपो भवः
पुरुषोत्तम लम्साल
 
हामीलाई संस्कृतमा लेखिएको एउटा पंक्ति कण्ठस्थ हुनपर्छ ।
परोपकारः पुण्याय पापाय परपीडनम् ।
उक्त पंक्ति अघि अर्को पंक्ति पनि छ ।
अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम ।
 
दुबै पंक्ति मिलाउँदा दुई हरफको भावार्थ यस्तो हुने रहेछ ।
महर्षी वेदव्यासले आफ्नो अठार पुराणमा दुई विशिष्ट वचन दिएका छन् । पहिलो, परोपकार गर्नेलाई पुण्य मिल्छ । दोस्रो अरुलाई पीडा दिनु पाप हो ।
त्यसैले धेरै स्थानमा अठार पुराणको सार नै यही दुई पंक्ति रहेको उल्लेख भेटिने रहेछ ।
सात्विक ज्ञान प्राप्त गर्ने विधि त होला तर त्यो हाम्रै पर्यावरणमा सम्भव नहुन सक्छ । सात्विक ज्ञान अर्थात् मान्छे, जीवजन्तु, वृक्ष इत्यादिमा एकै आत्मा देख्ने मनुष्य (स्त्री पुरुष दुबै)को कल्पना हाम्रो परिवेशमा स्वैरकल्पना ठहर्छ । अथवा, म त्यस्तो ठान्छु । हाम्रो सामाजिक अवयव र चिन्तनले पहिला ‘आफू बाँच र अरुलाई बचाऊ’ भन्छ । आफैंलाई हानि पु¥याएर अरुको कल्याण गर्ने मनुष्य यो युगमा विरलै होलान् । पहिला अरुलाई खुवाएर आफू खाने कि घरमा आमा हो कि परापूर्वका देवपुरुष जसको बारेमा हामीले श्रुती र स्मृतिमा मात्र सुनेका छौं ।
त्यसैले आफूलाई हानि नगरी अरुको परोपकार, उद्धार गर्ने वा गर्नसक्ने सार्थमा विश्वास गर्नपर्छ । समाज त्यही सेवाभावको अपेक्षा गर्दछ ।
हामीले सोच्नसक्ने सीमा भनेको परोपकार हो । उपकारको हो ।
आदर्शले के भन्दोरहेछ भने मेघले पनि परोपकारकै लागि वर्षा गर्ने हो, वृक्षले फल पनि परोपकारकै लागि दिने हो, परोपकारहेतु नै चन्द्रमाले शितलता दिन्छ, नदी आफ्नो जल आफैं पिउँदैन परोपकारकै लागि बहन्छ, परोपकारकै लागि गाई दूध दिन्छिन्, त्यसैले यो शरीर पनि परोपकारकै लागि हो ।
यी सब बाहिरी दुनियाको हित र भलाईका लागि, सहजीकरण र सरलीकरणका लागि सृजित हुन् । त्यसैले जो सज्जन छ, जो सत्पात्र छ उसले पनि अरुका हितमा काम गरेर जन्मलाई सार्थक बनाउँछ वा सिद्ध गर्छ भन्न खोजिएको होला भन्ने लाग्यो ।
 
असजिलो बाटो
निःसन्देह हुनपर्ने त माथि भने जस्तै हो तर यही नै अन्तिम सत्य मानेर हिंड्न आधुनिक समाजलाई सहज छैन । हामी सामूहिक चिन्तनबाट व्यक्तिकेन्द्रित चिन्तनमा लैस हुँदैछौं । उपकारपरक बाटोबाट उपभोक्तापरक दिशामा छौं । समस्याको भवसागर तर्नु र सेवामा लीन हुनुबीच ठूलो विरोधाभास छ । दूरी पनि छ । आध्यात्मिक समाजबाट हामीले हजारौं वर्ष पार गरिसकेका छौं, त्यसैले आध्यात्मिक साम्यवादी समाजको परिकल्पना गर्दागर्दै म त्यो आदर्शको पूर्णतः व्यावहारीकरण सम्भव छैन भन्छु । सरल र सहज भनेको गुण र दोष नहेरी सत्चरित्रपूर्वक यथासक्य उपकारमूलक कर्ममा सहभागी हुने हो । हामी बाँचिरहेको समाजले हामीबाट गर्ने अपेक्षा यही हुन्छ । मानवसेवालाई समाजसेवासँग जोडेर हेर्दा पनि पाइने त्यही हो ।
उपकारी वा परोपकारी व्यक्ति देख्नासाथ समाजले श्रद्धाले त हेर्ला तर श्रद्धाको नजरले जिजीविषा र भरणपोषणको अभाव पूरा गर्दैन वा धान्दैन । यो सत्य पनि हो तथ्य पनि हो । भौतिकवादी समाजको यथार्थ पनि यही हो । खादा, अबिर र मालाले सम्मान मिल्ला, पहिचान मिल्ला तर जीवनको सन्तुष्टी मिलेन भने खल्लो हुन्छ । जसले त्यही सन्तुष्टी नै जीवनको लक्ष्य हो भन्छ र बनाउँछ त्यो चाहिँ महान हो । लोभ, मोह र स्वार्थ त्यागेर समर्पणसाथ अनवरत त्यही परोपकारका लागि जीवनको त्याग र बलिदान दिने मान्छे चाहिँ महामानव हो । त्यसैले परोपकार साधना हो, कष्टपूर्ण साधना । यसो भनौं, संघर्षकै अर्को रुप । आफू जलेर अरुलाई प्रकाश दिने दीप जस्तो कर्म हो समाजसेवा वा परोपकार ।
मृत्युपछि पशुले पनि आफ्नो छाला मान्छेलाई दिएर परोपकार गरेको छ भन्नुको अर्थ मान्छेले उपकारकै अर्थमा कसैलाई आफ्नो छाला काढेर दिने रुपमा बुझ्न सकिंदैन । यो अव्यावहारिक छ र अकल्याणकारी पनि छ । राजा शिवीले आफ्नो शरणमा आएको परेवालाई आफ्नै शरीरको मासु खुवाएको स्मृतिकथाको व्यावहारिक रुपान्तरण सम्भव छैन ।
यो यथार्थभन्दा पर जान साधन, स्रोत र समयले पुगेसम्म कल्याणकारी कर्ममा व्यक्तिगत स्वार्थरहित तवरले सहभागी हुनसके त्यही नै धर्म हो । त्यही नै समाजसेवा हो । त्यही नै परोपकार हो । देवताका लागि दधिची ऋषीले आफ्नो अस्थी दिए, शिवजीले समुद्र मन्थनबाट निस्किएको कालकूट बिष पिए, कर्णले धर्म स्थापनार्थ कवच र कुण्डल दान गरे भन्नुको अर्थ मानव सेवा र परोपकारका स्वरुप भिन्नभिन्न हुन्छन् भन्ने हो ।
त्यसैले म समाजसेवा, सामाजिक कार्यलाई अलगअलग विधामा राख्नपर्छ भन्छु । सामाजिक कार्यकर्ता र समाजसेवीलाई पनि फरक दृष्टिले हेर्नपर्छ भन्छु । परोपकार साध्य हो र समाज सेवा साधना हो । सामाजिक मुद्दाको उठान गर्ने अभियान पनि यसभित्र पर्छ । यसभित्र जटिल सामाजिक विषयवस्तुमा प्रगतिशील परिवर्तनको आवाज मुखरित गर्नु पनि पर्दछ । रुढ र जड सामाजिक विचारमा हस्तक्षेपकारी सुधारको गुञ्जायश राख्नु पनि यसैभित्र पर्छ । स्वार्थको वा प्रतिफलको अपेक्षा गर्दा त्यो कार्य मात्र हुन्छ र, यदि स्वार्थरहित छ भने त्यो परोपकार वा सेवा ठहर्छ ।
कुनै पनि मार्गबाट समाज सेवामा सहभागी हुने रहर सबैलाई हुन्छ । १० वर्षकै उमेरमा कट्टुको इँजार पनि राम्रोसँग बाँध्न नजानेको समयमा प्रगतिशील र क्रान्तिकारी गीतसंगीतमा नाच्न सिकाउनेहरुले नै सेवाको अर्थ र सन्देश दिए । उनीहरुका भाषामा सेवा र मानवता शब्दलाई वर्गीय शब्दले छोपेको थियो । फरक त्यत्ति हो । धनी र गरिब, सम्पन्न र विपन्न, मालिक र नोकर, पूँजीपति र सर्वहारा, भूमिपति र भूमिहीन, शोषक र शोषित, शाषक र शाषित यस्तैयस्तै शब्दजालमा बेरिएर म र हाम्रो समवयी पुस्ता सेवा र धर्मको साधनामा लाग्नपर्छ भन्थ्यो । आध्यात्मले देखेको पुण्य पनि त्यही रहेछ, साम्यवादले गरेको परिकल्पना पनि त्यही हो । व्यवहारमा क्रियान्वयन गर्न नसक्नु अलग हो, तर सिकेको त्यही हो । धनुष चलाउन सिक्ने सबै अर्जुन हुँदैनन्, गधा चलाउन सिक्ने सबै दुर्योधन पनि हुँदैनन् । मैले आफूलाई यसरी चित्त बुझाएँ ।
मानवताका लागि दीनदुःखीलाई सहयोग गर्नु, उनीहरुको भरणपोषणमा भूमिका खेल्नु, सुविधाविमुख बालबालिकालाई शिक्षामा सहयोग गर्नु, मानवीय संस्थाहरुलाई दान दिनु, आपतकालीन उद्धारमा सहभागी हुनु सबै ईश्वरीय सेवा हुन् । भोकालाई भोजनका लागि कर्म गर्नु, वस्त्रविहीनलाई वस्त्रको व्यवस्था गर्नु, आवासविहीनलाई सुरक्षित आवासका लागि पहल गर्नु पनि परोपकार नै हो । नदी किनारमा उभिएका वृृद्धवृद्धालाई नदी पार गराउनु पनि उपकार नै हो । यो सेवामा संसारका सबै वादका आदर्शहरु घूलन भएका हुन्छन् । गीता, कुरान, बाइबल जे पढे पनि पाइने शिक्षा त्यही हो । कृष्ण पुकारे पनि, मोहम्मद अलापे पनि, बुद्ध जपे पनि शब्द र शैली मात्र फरक हुन् आशय र अर्थ एकै हुन् । बाटो मात्र फरक अपनाएका हुन् तर लक्ष्य एकै हो ।
गल्छीको बाटो गए पनि, छहरे टोखाको बाटो गए पनि वा रानीपौवा ककनीको बाटो गए पनि पुगिने त काठमाडौं नै हो, भनेको जस्तै हो यो मेरा लागि । म सेवाको मार्गलाई, परोपकारको बाटोलाई पनि यसरी बुझ्छु । दिनकै लागि केही छैन भने भलो चिताउनु पनि योगदान हो भनेर आफूलाई सान्त्वना दिनपर्ने ठाउँ धेरै छन् ।
व्यक्तिगत ‘त्व’ बिर्सिएर गरिने त्याग नै सेवा हो । बाँकी स्वार्थ हो । जुन सेवाले मनभित्र आध्यात्मिक शान्ति दिन्छ त्यही समाजसेवा हो । सामूहिक, संस्थागत वा दलगत प्रतिफल (नाफा) खोजिएपछि सेवाको महत्व गौण हुन्छ भन्नेमा सचेत हुनपर्छ भन्ने मान्यता महत्वपूर्ण हुन्छ ।
गाउँघर, टोलमा यस्ता धेरै गैरसरकारी संस्थाहरु छन् जो सेवाको बाटोमा हिंडिरहेका छन् । स्वयंसेवा गरिरहेका छन् । परिकल्पना उन्नत समाजकै छ । पवित्र छ । तर त्यसभित्र गहिरिएर हेर्दा सेवाको साधनामा को कति साधक देखिन्छन्, थाहा हुन्छ । मान्छेको निष्ठा अनुभव गरेर उसको साधनाको भेउ पाउन सकिन्छ । यो यकिन गर्नु पनि उत्तिकै जटिल छ । मानवीय सेवामा कार्यरत अनुहारहरु सेवालाई देखाएर स्वार्थको व्यापार गरिरहेका उदाहरण जब यत्रतत्र पाइन्छ तब भ्रम उत्पन्न हुन्छ ।
 
ब्यासको ‘शुद्र साधु !’
वर्णव्यवस्थामा बाँधिएको समाजको व्याख्या गर्नेहरुले शुद्रलाई पुछारमा राख्छन् । तर महाभारतका रचनाकार व्यास भन्छन्, ‘शुद्र साधु ।’
‘को ठूलो ?’ भन्ने प्रश्न लिएर गएका ऋषीगणलाई व्यासको उत्तर हो त्यो ।
संसारमा अरुले सजिलै नगर्ने वा, छाडेको तर सबैभन्दा ठूलो धर्म सेवा हो र, त्यो सेवा गर्ने समुदाय नै शुद्र हुन् व्यासको नजरमा । समाजमा सम्पन्न र विपन्नबीचको खाडलले उत्पन्न गरेको हेय सोच पुर्न सेवा व्यासको ‘शुद्र साधु’ विचारधाराबाट सेवा र हितमा नयाँ क्रान्ति हुनसक्छ ।
‘सेवा हि परमो धर्मः’ भन्ने हाम्रो नीति वाक्य छ । अर्थात् संसारमा सेवाभन्दा ठूलो कर्म र सेवाभन्दा ठूलो अर्को धर्म रहेनछ । पृथ्वीलाई नै परिवार मान्ने हाम्रो सभ्यताले सेवालाई मोक्ष वा स्वर्गप्राप्तीको मार्गको रुपमा व्याख्या गरेको भेटिन्छ । महाभारतमा कृष्णले भनेकै छन् जसले परहितमा वा परोपकारकारी कर्म गरेको छ उसको कूभलो वा दुर्गती हुँदैन ।
तर वर्णमा बाँधिएका समाजका पुछारका दुई वर्गले चाहिँ बाँचुन्जेल नारकीय जीवन बाँच्नपर्ने अनि मरेपछि स्वर्ग पाउने ? सेवा र परोकारको यो बिन्दूमा आएपछि म भगवानसँग पनि प्रश्न गर्छु । परोपकार पुण्य हो भने सामाजिक हित, रीत, व्यवस्था, पर्यावरणका खातिर काम गर्ने बर्गमाथि चाँहि पाप किन ? मरेपछि स्वर्ग मिल्ने तर बाँचुन्जेल श्राप किन ? यो प्रश्नमा हामीले प्रश्न गर्नपर्ने धेरै कारण छन् ।
 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग