परिमार्जित मुलर रिपोर्ट सार्वजनिक, ‘राष्ट्रपतिबाट आपराधिक काम भएन भन्न सकिन्न’

परिमार्जित मुलर रिपोर्ट सार्वजनिक, ‘राष्ट्रपतिबाट आपराधिक काम भएन भन्न सकिन्न’
न्यूयोर्क
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियन हस्तक्षेप बारे स्पेसल काउन्सिलर रोवर्ट मुलरले बुझाएको प्रतिवेदन परिमार्जन सहित महान्यायाधिवक्ता विलियम बारले बिहीबार सार्वजनिक गरेका छन् । केही गोप्य, महत्वपुर्ण एवं व्यक्तिगत सूचना बाहेक अरु रिपोर्ट हुबहु सार्वजनिक गरेको बारले दावी गरेका छन् । 
 
सार्वजनिक प्रतिवेदन अनुसार मुलरले चुनावमा ट्रम्पले रसियन सरकारसँग सहकार्य नगरेको प्रष्ट पारेका छन् । तर, रसियाले अमेरिकी निर्वाचनमा हस्तक्षेप प्रयास गरि रहेको र यसले आफैँलाई फाइदा पुग्नेमा भने ट्रम्प क्याम्पेन आशावादी रहेको प्रतिवेदनमा उल्लेख छ ।
 
प्रतिवेदनमा दुई पक्ष रहेका छन् । एउटा पक्षमा निर्वाचनमा रसियन संलग्नताबारे उल्लेख गरिएको छ भने अर्को पाटोमा ट्रम्पले न्यायीक अनुसन्धान प्रणालीमा हस्तक्षेप (अब्सट्रक्सन अफ जष्टिस) गरे नगरेको बारे उल्लेख छ । रसियन संलग्नतामा ट्रम्पको प्रत्यक्ष हात नरहे पनि न्यायीक अनुसन्धानमा भने उनले हस्तक्षेप नगरेको भनेर किटान गर्न नसक्ने प्रतिवेदनमा जनाइएको छ । 
 
अमेरिकामा न्यायीक अनुसन्धान माथि कुनै अवरोध सिर्जना गरिनुलाई ठूलो अपराधको रुपमा लिइन्छ । रसियन संलग्नताबारे अनुसन्धान सुरु गरेको केही पछि ट्रम्पले फेडरल इन्भेष्टिगेसन ब्यूरो (एफबिआई)का तात्कालिन निर्देशक जेम्स कोमीलाई फायर गरेका थिए । त्यस लगत्तै रसियन प्रतिनिधी मण्डलसँगको भेटमा आफुले एफबिआई निर्देशकलाई हटाएको प्रसंग पनि सुनाएका थिए । 
 
त्यति मात्र नभइ उनले अनुसन्धानलाई लक्षित गरि दर्जनौँ नकारात्मक अभिव्यक्ति पनि दिएका थिए । दिनहुँजसो मुलर र उनको टिमलाई गाली गर्दै ट्विट गर्ने गरेका थिए । ट्रम्पले न्यायीक अनुसन्धानमा हस्तक्षेप गरे नगरेको बारे संसदले थप अनुसन्धान पनि गर्न सक्ने मुलरले प्रतिवेदनमा उल्लेख गरेका छन् । यसले ट्रम्पमाथिको महाभियोग बहसलाई फेरि ब्युँताइ दिएको छ । संसदले ट्रम्पले न्यायमा अवरोध गरेको ठहर गरे महाभियोग लगाउन सक्नेछ ।
 
ट्रम्पले आफु निर्वाचित भए लगत्तै तात्कालिन सिनेटर जेफ सेसनलाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । उनले आफु रसियन अनुसन्धानमा संलग्न नहुने बताएपछि जष्टिस डिपार्टमेन्टले मुलरलाई स्पेसल काउन्सिलर नियुक्त गरि अनुसन्धानको जिम्मा लगाएको थियो । यो अनुसन्धानमा हस्तक्षेप नगर्ने सेसनको निर्णयप्रति ट्रम्प खुसी थिएनन् । सोही कारण गत नोभेम्बरको चुनाव लगत्तै उनले सेसनलाई फायर गरि बारलाई महान्याधिवक्ता नियुक्त गरेका थिए । मुलरले गत महिना बारलाई प्रतिवेदन बुझाएका थिए । बारले त्यसबेला ट्रम्पले न्यायीक अनुसन्धानमा पनि हस्तक्षेप नगरेको निश्कर्ष सुनाए पनि प्रतिवेदनमा अर्कै व्यहोरा रहेको खुलेको हो । 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग