कहाँ पर्‍यो नेकपाको एकतामा गाँठो ?

जनप्रतिनिधि भए पनि वरिष्ठलाई नेतृत्व दिनुपर्ने नयाँ प्रस्ताव

कहाँ पर्‍यो नेकपाको एकतामा गाँठो ?

काठमाडौं 

नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुग्याउन खोजेको छ। वरिष्ठ नेता माधव नेपाल सहमतिमा आए उक्त दिनसम्ममा प्रस्ताव सचिवालयवाटै अनुमोदन गराई टुग्याउने तयारी गरेको हो।

त्यसका लागि आज (शुक्रबार) र भोलि (शनिबार) दुई अध्यक्षले वरिष्ठ नेता नेपालसँग घनीभूत छलफल गर्ने भएका छन्। ७७ जिल्ला कमिटिमध्ये ४५ तत्कालिन एमाले र ३२ माओवादीले नेतृत्व लिने समझदारी बने पनि पूर्वएमालेमा नेतृत्वका विषयमा विवाद देखिएपछि प्रक्रिया अवरुद्ध हुँदै आएको थियो।

वरिष्ठ नेता नेपालले पार्टीमा जिम्मेवारी चयनमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी गर्न खोजेको भन्दै निरन्तर असन्तुष्टि जनाउँदै आइरहेका छन्। उनले कमिटीहरुको एकता कमिटि–कमिटिको हुनुपर्ने र त्यसका लागि निश्चित विधि बनाई जानुपर्ने पक्षमा अडान लिइरहेका छन्।

तर, प्रधानमन्त्री ओली एकता प्रक्रिया विशिष्ट अवस्थामा भएकोले विगत कमिटिमा रहेका मात्रै भनेर अल्झिन नहुने र सबैलाई समेटनुपर्ने अडानमा छन्। पूर्वएमाले नेताहरुबीच सहमति नजुट्दा एकता ढिलो भइरहेको छ।

दुई अध्यक्षले वरिष्ठ नेता नेपाललाई मनाउन यसै साता मात्रै पनि अहिलेसम्म चार पटक छलफल गरिसकेका छन्। बिहीबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले नेता नेपालसँग छलफल गरेका थिए। बैठकमा सहमति जुटाउने विविध विषयमा छलफल भएको स्रोत बताउँछ।

९ वैशाखभित्रै एकता प्रक्रिया टुग्याउने तयारीका साथ नै अध्यक्षद्वयले साताव्यापी चीन भ्रमणमा रहेका महासचिव विष्णु पौडेललाई पनि भ्रमण छोट्याई काठमाडौं फर्किन निर्देशन गरेका थिए । शनिबार मात्रै स्वदेश फर्किने कार्यतालिका रहेका पौडेल अध्यक्षद्वयको निर्देशनपछि बिहीबार नै स्वदेश फर्किएका छन्।

एकतामा अब उल्झन ल्याउन नदिन अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपाल र प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई मिलाउने बिकल्प खोजिरहेका छन्। त्यही क्रममा उनले नयाँ प्रस्ताव अहिले राखेका छन्। दुवै पक्षले अडान नछोडेपछि मध्यमार्गी विकल्पका रुपमा प्रचण्डले जनप्रतिनिधि भए पनि वरिष्ठलाई नेतृत्व दिनुपर्ने नयाँ प्रस्ताव राखेका छन्।

प्रचण्डको त्यस्तो प्रस्तावमा ओली र माधव नेपाल दुवै सकारात्मक रहेको स्रोत बताउँछ। दुई दिनको छलफलबाट पनि निष्कर्ष निस्कन नसके सिधै नेतृत्व घोषणा गरेर जानुपर्ने सुझाव ओली पक्षका नेताहरुले प्रधानमन्त्रीलाई दिएका छन्।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग