एनआरएनए उम्मेदवार— चित्र एक, चरित्र अनेक

एनआरएनए उम्मेदवार— चित्र एक, चरित्र अनेक
मनोज खनाल
 
अमेरिकी आकाशमा नजिकिँदै गरेको एनआरएन अमेरिका चुनावको चहलपहल एकातिर सामाजिक सञ्जालमा बाक्लै देख्न थालेको छ भने अर्कोतिर नेपाली बस्ती वरिपरि सामूहिक जमघट हुन थालेको देखिन्छ । जनसंख्याको हिसाबले करिब तीन लाखको हाराहारीमा नेपालीहरु अमेरिकामा भए तापनि यसपल्ट केवल नौ हजारले मात्र संस्थाको नेतृत्व चयन गर्ने निर्वाचनमा भोट दिन पाउनेछन् । यस परिप्रेक्ष्यमा यो चुनावले त्यत्रो जनसंख्याको प्रतिनिधित्व गर्न सक्ला ? भन्ने प्रश्नको उत्तर खोज्न विगतको गतिविधि हेरे काफी हुनेछ ।
शैक्षिक योग्यताको दृष्टिकोणबाट हेर्दा विशिष्ट ज्ञान हासिल गरेकादेखि कलेज नगएका व्यक्तिसमेत उम्मेदवार बनेका छन् । जातीयताको आधारमा हेर्ने हो भने (कथित) ब्राह्मणदेखि दलितसम्म, नेपालमा जागीरमा रहँदा डण्डा हल्लाउनेदेखि पार्टीको झण्डा हल्लाउनेसम्म सामेल छन् । कुनै सामाजिक संस्थामा उदाहरणीय काम गरेका एकाधबाहेक अधिकांश सामाजिक संस्था नै दुर्गन्धित बनाउनेहरु पनि सुरिएका छन् । नेपालमा कुनै पनि दैवीप्रकोपको घटना भए चन्दा र सहयोग संकलनको निहुँमा रकम हात पार्ने दाउमा बसेकाहरुको रगजगबाट मतदाताहरु बेलैमा सचेत बन्नुपर्छ ।
दुःखलाग्दो तरिकाले सुनाउनु पर्दा हालसम्म ३ प्रतिशतले मात्र चिन्न र चिनाउन सकेको नेपाली मात्रको साझा संस्था एनआरएन अमेरिकाको सन् २०१९–२१ का पदाधिकारीहरुको नेतृत्व चयनका लागि ‘तँ भन्दा म के कम’को शैलीमा उम्मेदवार घोषणा गर्ने क्रमले सामाजिक सञ्जाल अब सार्वजनिक सभामा परिणत हुन थालेका छन् ।
नेपाली मात्रको एकमात्र वजनदार संस्था हुनुपर्नेमा हालसम्मका केही अनुहारहरु कपासभन्दा पनि हलुका र पिँध नभएका लोटा जस्ता देखिएका छन् । नेपालका माउ पार्टीका हनुमानहरुकै झुण्डहरुले भरिभराउ भएकाले नै गर्दा होला यो संस्थाले खासै उपलब्धिपूर्ण काम गर्न सकेको छैन । साँच्चै भन्ने हो भने यो संस्थाले न हिजो न आज एकाध व्यक्तित्वबाहेक दलगत र गुट–उपगुट राजनीतिमा चुर्लुम्म डुबेका, एयरपोर्टमा खादा र माला लिएर लाइन लागेका, अमेरिकादेखि नेपालसम्म बिचौलिया र दलाली पेशामा रमाएका, जनसम्पर्क बढ्दा फाइदा पुग्ने पेशा अँगालेका, मानव तस्करको नाममा एउटा लेटरप्याडको मूल्य कम्तीमा नेपाली रुपैयाँ पच्चीस लाखमा गुपचुप साट्न सक्ने न वजन, न हाइट, न गुणस्तर भएका भिडहरुकै हातमा रुमल्लिन पुग्यो र सदस्यता संख्याको हिसाबले (हार्ड ड्राइभलाई पनि जोड्दा) गत वर्षको तुलनामा झण्डै आधा संख्यामा वर्तमान कार्यसमितिका अति गुणायमान कार्य सम्पादनका कारणले खुम्चन बाध्य भयो । यसो भन्दै गर्दा विगतमा एनएनएबाट एनआरएनएसम्म आइपुग्दा यदाकदा केही नैतिकवान र समाजमा धेरै उचाइ भएका व्यक्तित्वहरु पनि कार्यसमितिमा नभएका होइनन् तर धेरै समय व्यतित भएको अनि केही व्यक्ति र सीमित गुटको चपेटामा परेका कारण उनीहरुको कार्यकालमा के उपलब्धि भयो ? सबैको सामुन्ने छर्लङ देखिन्छ । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नाराको केही हदसम्मको सार्थकता भएकै कारणले होला नेपालमा लालबाबु पण्डित जस्ता मन्त्रीले गरेको एनआरएनएको एक्लो परिभाषा भए पनि एनआरएनएको एउटा नेतृत्वको पालामा दोहोरो नागरिकताको प्रावधान नेपालको संविधानको दफामा अटाउनु एउटा ठूलै उपलब्धिका रुपमा मान्नु पर्दछ । हुन त आयाराम र गयारामको तालमा एनआरएनको विगतका कार्यसमितिमा गुटमा समाहित भएपछि मात्र चुनाव जितेपछि सुशोभित हुन पुगेका महाशयहरु फाइदा र बेफाइदाको हिसाब गर्दागर्दै नेपाली समुदायमा गुमनाम भएका छन् र यो क्रम जारी रहनेछ । यो संस्थालाई कमाई खाने भाँडो बनाएर आफ्नो नाम र पद भाँज्न नसक्नेहरु नै बहिर्गमन हुने हुन् ।  
पत्रकारले पनि संस्थाको समृद्धिका लागि आफ्नो राजनैतिक आस्थालाई एकछिन थाती राखेर वर्गीय धर्म र हितका लागि कालोलाई कालै हो भन्ने दुस्साहस राख्नसके मात्र यो संस्थाको भविष्य रहनेछ । राम्रोलाई हाम्रो भन्न सक्ने ताकत राख्ने एउटा पछिल्लो उदाहरण लिने हो भने लेखक खगेन्द्र संग्रौला गत चुनावमा गगन थापाको समर्थनमा हिँडेको प्रसंग संस्मरण गराउँदछु । एनआरएनएको आगामी कार्यसमितिमा उम्मेदवारी दिने भद्र पुरुष र सज्जन महिलाहरु तल उल्लिखित विषयगत बुँदाभित्र यदि तपाईं पर्न सक्नु हुन्न भने तपाईंले खोजेको संस्था यो होइन, कृपया उम्मेदवारी दिएर आफै बेवकुफ बन्ने कार्यमा सहभागी नभई स्वच्छ र स्वस्थ वातावरणबाट एनआरएनएलाई अघि बढ्न सहयोग पु¥याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।
 
१. अबको एनआरएनएको नेतृत्व कुनै पनि पार्टी, वाद, गुट, जातविशेष, ठाउँविशेष, धर्मविशेषरहित हुने भएकाले यदि तपार्इं माथि उल्लिखित कुनै पनि व्यक्ति वा संस्थाको प्रतिनिधित्व गर्नु हुन्न वा संस्थामा संलग्न हुनुहुन्न भने । 
२. एनआरएनएको कार्य समितिको आगामी दुई वर्ष कार्यकालमा पदअनुसार आफ्नो भ्रमण, होटल, सेमिनारजस्ता विषयमा करिब २० हजारदेखि ५० हजार डलर खर्च हुन्छ वा खर्च गर्न सक्ने हैसियत राख्नुहुन्छ भने । 
३. तपाईंले यस अघि कुनै पनि संघसंस्थामार्फत समाजमा सेवा पु¥याउनु भएको छ र यस्तो दस्तावेज समाजसमक्ष राख्न सक्नु हुन्छ भने । 
४. न्यूयोर्कका उम्मेदवारलाई टेक्सासमा नचिन्ने, टेक्सासको उम्मेदवारलाई क्यालिफोर्नियामा नचिन्ने हो भने । 
५. पटक–पटकका नेतृत्व र पदाधिकारीहरुले यस अघि अमेरिकी धर्तीमा हरेक नेपालीहरुलाई समेट्न नसकेको परिप्रेक्ष्यमा तपाईंसँग कुनै त्यस्तो समेट्ने योजना छैन भने । 
६. नेपालको घिनौना र अस्वस्थ राजनीति २२–२५ घण्टाको हवाई यात्रा गरी अमेरिकासम्म छिरेको अवस्थामा नेपालीहरुलाई पुनः मुसी भवकै तालमा फेरि डुबाउन चाहनु हुन्छ भने ।
७. यदि तपाईं कुनै पार्टीको कार्यकर्ता हुनुहुन्छ र कुनै सार्वजनिक पदमा आसिन हुनुहुन्छ भने तपाईंबाट सामाजिक संस्थाको समृद्धि र संस्थागत विकास कसरी हुन सक्दछ ? अँग्रेजीमा ‘सरी टु से’ महाशय भन्दै यो चुनाव कुनै सांसद, नगरपालिका र गाउँ विकासको पनि नभएकाले गलत ठाउँमा उभिनु भएको वा कहाँ उठ्नु पर्ने अहिलेसम्म भेउ नपाएको । 
८. बजारमा एउटा अनौठो चलन चलेको छ अंग्रेजीमा ‘इन्डोर्समेन्ट’ गर्ने भन्दै समाजमा एक बित्ता अगाडि छु भन्ने भ्रम पालेका अनि आफैं चुनावमा उठे भने आफ्नै घरका परिवारका सदस्यका भोटै नपाउने महाशयहरुले पनि  यसो र उसो भने भन्ने शक्ति गुमाएका हुनुहुन्छ भने ।
 
विभिन्न राज्यमा बसोवास गर्नुहुने पैसा तिरेपछि सदस्य पाइने मतदाताहरुले तपाईंको शहरमा भोट माग्न आउनु हुने भद्र महिला तथा पुरुषहरुले यहाँलाई लागेका यीमध्ये कुनै प्रश्नको झटारो हानेर उत्तर खोज्ने प्रयास गर्नु होला र सही उत्तर पाएको उम्मेदवारलाई भोट दिई जिताउनु होला भनी अनुरोध गर्दछु ।
 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग