श्रीलंका बम विस्फाेट : आइएसले जारी गर्‍याे घटना गराउने ८ लडाकुकाे तस्बिर

श्रीलंका बम विस्फाेट : आइएसले जारी गर्‍याे घटना गराउने ८ लडाकुकाे तस्बिर

काेलम्बाे

श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ। मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले साे घटना घटाउन सामेल भएका सबै ८ जना लडाकुकाे तस्बिर सार्वजनिक गरेकाे हाे।

ट्विटरबाट सार्वजनिक गरिएकाे साे तस्बिरमा देखिएका ८ जना लडाकुले नै साे हमला गराइएकाे दाबी गरिएकाे छ। भारतीय समाचार संस्था 'आज तक'का अनुसार तस्बिर ट्विटर ह्यान्डल @Natsecjeff बाट सार्वजनिक गरिएकाे हाे।

तस्बिरमा देखिएका सबैले कालाे कपडा लगाएका छन् भने एक जना बाहेकले अनुहार ढाकेका छन्। यसअघि म‌ंगलबार साे हमलाकाे जिम्मेवारी आइएसले लिएकाे 'अमाक न्युज एजेन्सी'लाई उद्धृत गर्दै 'राेयटर्स'ले लेखेकाे थियाे।

श्रीलंका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि मंगलबार घटना आइएसले गराएकाे हुनसक्ने अनुमान गरेका थिए। यसअघि उनले घटनामा अन्तर्राष्ट्रिय तत्वकाे हात रहेकाे बताएका थिए।

सरकारका प्रवक्ता रजित सेनारत्नेले पनि विदेशीको सहयोग बिना हमला नभएको दाबी गरेका थिए। ‘हामीलाई लाग्दैन कि यो देशमा सीमित एउटा समूहका मानिसहरूले मात्रै हमला गराएका हुन्,’ उनको भनाइ छ, ‘एउटा अन्तर्राष्ट्रिय समूह छ जसको सहयोग विना ती हमलाहरू गराउन सम्भव थिएन।’

यसअघि श्रीलंकाली सरकारले स्थानीय मुस्लिम समूह नेसनल तौहिद जमात(एनटीजे)को हात रहेको बताएको थियो।

आक्रमणकाे अनुसन्धानका लागि ३ सदस्यीय समितिसमेत बनाइएकाे छ। उक्त समितिलाई राष्ट्रपतिसमक्ष जाँचबुझ रिपाेर्ट बुझाउन २ साताकाे समय दिइएकाे छ।

सुरक्षा प्रमुखहरु पदमुक्त

यसैबीच राष्ट्रपति सिरिसेनाले सबै सुरक्षा संयन्त्रका प्रमुखहरुलाई पदमुक्त गरेका छन्।

घटनाबारे यसअघि नै सूचना आएपनि साेका बारेमा सबै संयन्त्रमा सूचित नगरिएकाे, आवश्यक सुरक्षा सतर्कता नअपनाइएकाे तथा आफूलाई समेत साेकाे बारेमा जानकारी नदिएकाे भन्दै सबै सुरक्षा अंगका प्रमुखहरुलाई पदमुक्त गरेका हुन्। 

 

आइतबार राजधानी काेलम्बाे, नेगोम्बो र पूर्वी तटीय क्षेत्र बाट्टिकोलामा गराइएकाे विस्फाेटमा हालसम्म ३ सय २१ जनाकाे मृत्यु भएकाे छ भने ५ सय भन्दा बढी घाइते भएका छन्। मारिनेमा ४५ जना विदेशी नागिरक समेत रहेकाे बताइएकाे छ।

आइतबार बिहान र दिउँसाे गरी ८ स्थानमा बम विस्फाेट गराइएकाे थियाे। विस्फाेट गिर्जाघर र हाेटलमा गराइएकाे हाे। हमलाकाे भाेलिपल्ट पनि केही स्थानमा बम भेटिएकाे थियाे। पेट्टाकाे मुख्य बस स्टेसनमा सोमबार ८७ वटा डेटोनेटर पाइएकाे थियाे। जसका कारण साे क्षेत्रमा केहीबेर भागदाैड समेत मच्चिएकाे थियाे। यसका अलावा विमानस्थलकाे नजिकै पनि एक बम फेला पारिएकाे थियाे। जसलाई श्रीलंकाली सेनाकाे बम डिस्फाेजल टाेलीले निष्क्रिय बनाएकाे थियाे।

यसैबीच श्रीलंकामा साेमबार मध्यरातदेखि संकटकाल लगाइएकाे छ। विभिन्न गिर्जाघर र हाेटलमा गराइएकाे विस्फाेटमा ज्यान गुमाउनेकाे सम्झनामा मंगलबार राष्ट्रिय शोककाे समेत घोषणा गरिएकाे थियाे।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग