फेरि चम्किंदै नेपाली पश्मिना

फेरि चम्किंदै नेपाली पश्मिना
काठमाडौं
भेंडा, च्याङ्ग्राको रौं प्रशोधन गरी बनाइने धागो पश्मिना हो । भेंडा, च्याङ्ग्रा पालन हुने नेपालका हिमाली क्षेत्र खासगरी मनाङ, मुस्ताङ, डोल्पा, सोलुुखुम्बु लगायतका जिल्लाका शेर्पा समुदायमा आधारित पश्मिना संसारमै चर्चित कपडामा पर्छ । पहिले–पहिले हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा समुदायले आफूले ऊनका कपडा लगाउँथे । बिस्तारै यो समुदायका केही व्यक्ति काठमाडौं, पोखरा लगायतका शहर बजार झरे । त्यही क्रममा ऊनीका कपडा उनीहरुले साथमै शहर ल्याए । शहरका मान्छेले त्यसलाई मन पराउन थाले । यसरी ऊनीका कपडाले शहर बजारका मान्छेको ध्यान तानेपछि भेंडा, च्याङ्ग्राको रौंबाट निर्मित धागोबाट कपडा बनाउने र बेच्ने प्रक्रिया शुरु भएको मानिन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा पश्मिनाका कपडा व्यावसायिक रुपमा विक्री–वितरण हुन थाले  । काठमाडौंको इन्द्रचोक र दरबारमार्गमा राखिएका पश्मिनाका कपडा विदेशी पर्यटकका लागि आकर्षक बन्न थाले । संसारभरका व्यवसायीका नजरमा नेपालको पश्मिना प¥यो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा कारखाना मात्र खुलेनन् विक्री–वितरणका लागि जहाँतहीँ पसल सञ्चालन गरियो । विदेशबाट एक–डेढ लाख डलरको अर्डर आउन थाल्यो । २०५८ सालमा १० अर्ब रुपैयाँको पश्मिना निर्यात भयो ।
विश्व बजारमा अहिले नेपाली पश्मिनाको निर्यात झण्डै ५० देशमा हुन थालेको छ । पश्मिना भन्नासाथ नेपाललाई विश्व बजारमा स्थापित गर्ने एक प्रमुख निर्यातमूलक उत्पादनलाई लिन्छौं । उद्योगको विकास गर्न सकेको अवस्थामा नेपाली पश्मिनाले संसारमै आफ्नो थप पहिचान बनाउन सक्छ । च्याङ्ग्राको रौं प्रशोधन गरी पश्मिना उत्पादन हुन्छ । यसरी प्रशोधन गरिएको पश्मिनाबाट विभिन्न प्रकारका कपडा बनाइन्छ । खासगरी हातले बुनेका पश्मिनाका कपडा विश्व बजारमा लोकप्रिय बनेका छन् । पछिल्लो समय कच्चापदार्थ चीन, भारत र यूरोपबाट समेत नेपालमा आयात हुन्छ । नेपाली पश्मिनाबाट बनेका सल, स्कार्फ, पञ्जा, स्वेटर, कम्पबल, टिसर्ट लगायतका उत्पादन यूरोप, अमेरिका र एसियाका विभिन्न देशमा लोकप्रिय छन् । पछिल्लो समय नेपालबाट वार्षिक तीन अर्बभन्दा बढीको पश्मिना निर्यात हुने गरेको नेपाल पश्मिना उद्योग संघले जनाएको छ । हिमाली क्षेत्रमा कच्चा पदार्थ पाइने भए पनि पश्मिना उद्योग भने धेरैजसो काठमाडौं उपत्यकामा छन् । नेपालको निर्यात प्रवद्र्धनको क्षेत्रमा पश्मिना सबैभन्दा अग्रस्थानमा आउँछ । अघिल्लो वर्ष अर्थात् सन् २०१८ मा तीन अर्ब रुपैयाँको पश्मिना निर्यात भएको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापाले जानकारी दिए । तर, डेढ दशक पहिले यूरोपेली र अमेरिकी बजारमा १० अर्ब रुपैयाँभन्दा धेरै रकमको पश्मिना विदेश जान्थ्यो । नेपाल आउने पर्यटकले उपहारको रुपमा पनि पश्मिनाका सामग्री लैजान्थे । 
नेपाल सरकारले पश्मिनामा कर लगाउँदा २०५८ सालमा चीन र भारतले नेपाली पश्मिनाको नक्कल गरेर मेसिनबाट पश्मिनाको उत्पादन थाले । यसले गर्दा नेपाली पश्मिनाको निर्यात निकै कम हुन थाल्यो । जसले गर्दा एकै वर्षमा पश्मिनाको निर्यात मात्र १ अर्बमा खुम्चिएको थियो । नेपाली पश्मिनाका लागि आर्थिक वर्ष २०५८÷०५९ सालमा एक्कासि नेपाली पश्मिनाको निर्यातमा समस्या आएको हो । चीनले मेसिनको प्रयोगबाट सस्तो खालको पश्मिना विश्वबजारमा पु¥याउन थालेपछि नेपाली पश्मिना व्यवसायी पलायन नै भएका थिए । पछिल्ला चार वर्षयता ट्रेडमार्क दर्ता गरेपछि बिस्तारै नेपाली पश्मिना निर्यात हुन थालेको छ । हरेक वर्ष निर्यात झिनो अंकले भए पनि बढ्न थालेको छ । नेपाल सरकारले पनि विश्व बजारमा निर्यात हुनेगरी पश्मिना उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन दिन थालेको छ । सहुलियत ऋण, कच्चा पदार्थ आयातमा सहयोग लगायतका क्षेत्रमा सरकारले ध्यान दिए पनि पश्मिना व्यवसायी खुसी भएका छन् । पछिल्लो समयमा अष्टे«लियामा समेत नेपाली पश्मिना लोकप्रिय बन्न थालेको छ । पहिले जस्तै अहिले पनि विदेशी नायक–नायिका, उद्योगी–व्यवसायी र खेलाडीले समेत पश्मिनाका कपडा मन पराउन थालेका छन् । 
पश्मिना उत्पादन र प्रवद्र्धनका लागि कच्चा पदार्थको उत्पादनमा ध्यान दिनु आवश्यक हुनेमा व्यवसायी कर्केन ताङ्वे गुरुङ बताउँछन् । ठूलो संख्यामा भेंडा, च्याङ्ग्रा पालन गर्ने र भुवालाई प्रशोधन गरेर धागो बनाउने हो भने नेपाली पश्मिना उद्योगले फेरि एक पटक विश्व बजारमा आफूलाई स्थापित गराउने थियो । अहिले नेपालमा उत्पादन भएको रौं चीन जाने र चीनबाट प्रशोधन भएर फेरि नेपाल आउने गरेको छ । विदेशी ग्राहकले गुणस्तर परीक्षण गरिएको प्रमाणपत्र खोज्ने गरेकाले सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक हुन्छ । केही व्यवसायीले गुणस्तर परिक्षणका लागि नेपाली पश्मिना विदेश पठाउने गरेका छन् । लगानीको हिसाबले पनि बिस्तारै यो क्षेत्रमा लगानी गर्नेको संख्या र मात्रा बढी रहेको व्यवसायी शंकर पाण्डेको भनाइ छ । नेपालको व्यापार घाटा हरेक वर्ष बढ्दै गएको छ । सीमित बस्तुको विदेशी बजारमा निर्यात हुने भएपनि आयातको तुलनामा अपेक्षित सुधार हुन सकेको छैन । चालु आर्थिक वर्षको को आठ महिनामा कुल वस्तु व्यापार घाटा आठ खर्ब ८७ अर्ब पुगेको छ । एक रूपैयाँ बस्तु निर्यातमा १६ रुपैयाँको आयात देखिएको छ ।  
बढ्दो व्यापार घाटाका विषय पछिल्लो दशकदेखि धेरै छलफल भएको छ । सरकारले हेरक वर्ष व्यापार घाटा न्युनिकरण गर्न नीति ल्याउने गरेको हुन्छ । हरेक बजेटमा निर्यात प्रवद्र्धनका कार्यक्रम पनि ल्याइने गरेको छ । तर, उद्योगीको भनाइ उस्तै छन् सहुलियत कम भयो । बजेटमा दिएइको छुट साउन देखि नै लागू हुनु पर्नेमा कार्यविधिका नाममा ढिलाइ गरिएकाले अहिलेसम्म कार्यान्वयनमा नआएको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा विक्रम थापाले गुनासो गरे । सरकार र निजी क्षेत्र पाटनरसिपमा अघि बढ्नु पर्ने भए पनि एकले अर्कोलाई विश्वास गर्न नसकेका कारण नेपाली पश्मिना व्यवसायले उल्लेखित प्रगति हासिल गर्न नसकेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् । सरकारले नेपाली पश्मिना उद्योगलाई प्रमुख निर्यातमूलक उद्योगका रुपमा विकास गर्न राज्य तहबाटै ठूलो लगानी गर्नुपर्ने आवश्यकता छ भने विश्व बजारमा नेपाली पश्मिनालाई स्थापित गराउनका लागि पहल थाल्न अनिवार्य हुन्छ ।
 
पश्मिनाले शिल्पाका पतिको जीवन परिवर्तन 
नेपाली पश्मिनाका कारण भारतीय अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्राको जीवन भने गरिब परिवारबाट संसारमै धनीमा रुपान्तरण भएको छ । आर्थिक अभावले थिलथिलो भएको उनको जीवन सन् १९९४ मा काठमाडौं आएपछि नाटकीय परिवर्तन भयो । आर्थिक अवस्था कमजोर भएपछि पढ्न नपाएका कुन्द्राले नेपालबाट पश्मिनाका सल बेलायती बजारमा लगेर विक्री वितरण थाले । त्यसपछि उनको जीवनले नै काँचुली फे¥यो । नेपालबाट पश्मिनाको सल बोकेर बेलायतमा बसमा खलासीको काम गर्ने बाबु बालकृष्णलाई भेट्न गएका बेला बेलायतीले नेपाली सललाई मोलमोलाइ गरेर किने । उत्साही भएका उनले डेड लाख भारतीय रुपैयाँमा नेपालबाट सल लगेर दुई करोड पाउण्डमा बेचेका थिए । नेपाली पश्मिनाले उनलाई काठमाडौं र बेलायत ओहोरदोहोर मात्र गराएन बेलायतको स्थापित व्यवसायीको रुपमा चिनायो । केही वर्षमै उनले अर्बौं रुपैयाँ कमाए । 
भारत फर्किएका राज कुन्द्राले पश्मिनाको व्यापार मात्र होइन अहिले हिरामोती, वैकल्पिक ऊर्जा लगायतका दर्जनौं क्षेत्रमा काम गरिरहेका छन् । उनको व्यापार अहिले दक्षिण अफ्रिका, अमेरिका र एसियाका धेरै देशमा फैलिएको छ । युक्रेन, रुस, युएई लगायतका देशमा खानी, ऊर्जा, रियल इस्टेटमा समेत उनले लगानी गरेका छन् । सन् २००७ मा पहिलेकी श्रीमती कवितासँग कुन्द्राको सम्बन्ध विच्छेद भएपछि अभिनेत्री शिल्पा सेट्टीसँग उनले सन् २००९ मा विवाह गरेका थिए । कुन्द्राले आफ्नो वेबसाइटमा समेत नेपाली पश्मिनाको व्यापार गरेको कुरा उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत उनलाई नेपाली पश्मिनाको व्यवसायीका रुपमा चिनाउँछन् । कुन्द्राले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पश्मिनाकै कारण आफ्नो जीवनमा नाटकीय परिवर्तन आएको भन्ने कुरा छुटाउँदैनन् । कुन्द्रा जसरी स्थापित भएका छन् त्यसरी नेपाली व्यवसायी भने नेपाली पश्मिनाबाट स्थापित हुन सकिरहेका छैनन् ।
 
 
 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग