हाम्रो बारेमा

विश्वन्युज मिडिया इन्कर्पोरेशन

५१-०१ ३९औं एभिन्यु, अपार्टमेन्ट ‘ए’ ६६

सन्नीसाइड, न्युयोर्क, १११०४

संयुक्त राज्य अमेरिका

vishwosandesh@gmail.com

हाम्रो अठोट

विश्व न्यूज डटकम न्यूज पोर्टल त हो, तर अरु सबैभन्दा फरक न्यूज पोर्टल हो । समाचार सधै नयाँ, निष्पक्ष र सन्तुलित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । सँधै नयाँ, ताजा र निष्पक्ष समाचार दिने हाम्रो प्रतिबद्धता हो । हामी कसैको झण्डा बोक्दैनौं । कसैको भजन किर्तन पनि गाउँदैनौं । जे देख्छौं, त्यो लेख्छौं । जे सत्य हो, त्यही लेख्छौं । हामी कसैको प्रलोभनमा कलम चलाउँदैनौं । हामी कसैको धाकधम्कीमा कलम चलाउँदैनौं । पैसाको लोभमा न हामीले कलम रोक्नेछौ, पैसाको लोभमा हामीले न कुनै कुरा लेख्नेछौं । कतैबाट प्रभावित नभइकन सत्य समाचार संप्रेशण गर्ने हाम्रो अभियान हो ।

समाचार यात्रामा हाम्रा खुट्टाहरु कहिले थर्थराउने छैनन् । हाम्रा हातहरु कहिले काप्ने छैनन् । हामी वास्तविक पत्रकारिताका लागि जस्तासुकै अक्करहरुमा जस्तासुकै ठक्करहरु भोग्नसमेत तयार छौं । हामी उद्घोष गर्न चाहन्छौं, हामी अनलाइनहरुको भींडमा फरक शैलीको अनलाइनका रुपमा अगाडि बढ्नेछौं । हाम्रो शैली कुनै औपचारिकतामा सिमित रहने छैन । आम जनताको जे शैली छ, हाम्रो पनि त्यस्तै मौलिक शैली हुनेछ । जनताले बोल्ने भाषा नै विश्व न्यूजको भाषा हुनेछ ।

कसले के बोले ? त्यो हाम्रो समाचारको मुख्य विषय हुनेछैन । कसले के गरे ? त्यो नै हाम्रो समाचारको मुख्य विषय हुनेछ । सोलोडोलो समाचार दिने अहिलेसम्मको ट्रयाकलाई भत्काएर खोजमुलक समाचार दिने हाम्रो लक्ष्य रहेको छ । खोजी पत्रकारिताको राजमार्ग बन्ने हाम्रो उदेश्य हो । हामी कसम खान्छौं, मार्गबिहिन भएर अलमलिएको नेपाली खोजी पत्रकारितालाई बाटो दिनका लागि नेपाली अनलाइनहरुको इतिहासमा नै हाम्रो यो पहिलो कदम हुनेछ ।

हामी अनलाइनमा मात्र छैनौं । विश्व सन्देश पाक्षिकका रुपमा हामी अमेरिकामा रहेका नेपाली पाठकहरुको घरघरमा विगत चारवर्षदेखि पुगिरहेका छौं । तर अब हामी अमेरिकामा मात्र सिमित हुनेछैनौं हामी अनलाइन मार्फत विश्वभर पुग्नेछौं ।

हामी अहिले भर्खर जन्मिएका छौं । भर्खर जन्मिएको शिशुलाई हुर्काउने जिम्मा तपाई पाठकहरुको हातमा पनि छ । अमेरिकाको न्युयोर्कमा रहेको प्रधान कार्यालय र नेपालको काठमाडौंमा रहेको ब्यूरो कार्यालयबाट हामीले चौबीसै घण्टा, सातै दिन समाचार अपडेट गरिरहनेछौं । विश्वभर नै हाम्रा तीब्र गतिका संवाददताहरु छरिएर रहेका छन् । त्यो बाहेक यो शिशुलाई हुर्काउनका लागि हामीले छुट्टै टास्क फोर्स पनि बनाएका छौं ।