अमेरिकाका ‘टपटेन पपुलर’ गभर्नरमा रिपब्लिकनको स्विप

अमेरिकाका ‘टपटेन पपुलर’ गभर्नरमा रिपब्लिकनको स्विप

ब्लु स्टेटमा रेड गभर्नरको चार्म

न्यूयोर्क । गत अक्टोबर ६ मा सम्पन्न मध्यावधि निर्वाचनमार्फत अमेरिकामा डेमोक्रेटिक पार्टीले ऐतिहासिक सफलता हात पारेको छ । सिनेटमा दुई सिट गुमाए पनि तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ र गभर्नरमा डेमोक्र्याटहरु उत्साहित फड्को मार्न सफल भए ।

हाउसमा त मुलुकभर खसेको भोटमध्ये रिपब्लिकनलाई डेमोक्रेटिक उम्मेद्वारहरुले करोड भोट हाराहारीले पछि पारेका छन् । यो तथ्याङ्कले अमेरिकी मध्यावधि चुनावमै नयाँ रेकर्ड कायम भएको जनाइएको छ । यस्तै गभर्नरमा पनि १६ स्थानबाट बढाएर डेमोक्र्याटले २३ राज्यको कमान हात पारेका छन् । रिपब्लिकन गभर्नरबाट सात राज्य डेमोक्र्याटले खोसेका हुन् । तथापि, स्वतन्त्र गभर्नरको हातबाट अलास्का खोस्दै रिपब्लिकनको २७ राज्यमा सरकार कायमै रहेको छ । रिपब्लिकनले गभर्नर जितेका केही यस्ता राज्य छन्, जहाँ अरु सबै पदमा डेमोक्र्याटको बहुमत छ । गहिरो ब्लु स्टेटको पहिचान बनाएका म्यासाचुसेट्स, मेरिल्यान्डजस्ता राज्यमा भने रिपब्लिकन गभर्नरले पुनः निर्वाचन जितेका हुन् । उनीहरु जनतामाझ अत्यधिक लोकप्रिय भएकै कारण देशभर एवम् राज्यमा डेमोक्र्याटको लहर आउँदा पनि चुनावमा जोगिन सफल भए । गभर्नर राज्यका जनताको दैनिक जीवनसँग जोडिने नीतिनियमका लागि प्रमुख जिम्मेवार हुने र त्यसमा जसले राम्रो काम ग¥यो उसैले मत पाउने गरेको देखिन्छ । यसका लागि मतदाताले दललाई भन्दा उम्मेद्वारलाई महत्व दिने गरेका गरेका छन् ।

अहिले अमेरिकाका १० लोकप्रिय गभर्नरको सूचीमा संयोगले सबै रिपब्लिकन पार्टीका छन् । तिनमा सबैभन्दा लोकप्रिय म्यासाचुसेट्स गभर्नर चार्ली बेकर छन् । मर्निङ कन्सल्टले गरेको सर्भेक्षणअनुसार राज्यमा उनलाई मन पराउने सर्वसाधारणको संख्या ७० प्रतिशत छ । सोही लोकप्रियताका कारण राज्यबाट हाउस अफ रिप्रिजेन्टेटिभका नौ वटै सिटमा डेमोक्र्याटले बाजी मारे पनि बेकरले दोब्बर मतान्तरले गभर्नरको पुनः निर्वाचनमा जित्न सफल भए ।

लोकप्रिय गभर्नरको सूचीमा दोस्रो स्थानमा मेरिल्याण्डका ल्यारी होगन छन् । उनी पनि म्यासाचुसेट्स जस्तै ब्लु स्टेटमा आफ्नो पुनः निर्वाचनको तगारो पार गर्न सफल रिपब्लिकन उम्मेद्वार हुन् । मेरिल्याण्डका आठ हाउस सिटमा सात डेमोक्र्याटले जितेका थिए । त्यति हुँदा पनि होगन झन्डै १४ प्रतिशत बिन्दुको मतान्तरसहित पुनः निर्वाचन जित्न सफल भए । राज्यमा उनको एप्रुभल रेटिङ ६७ प्रतिशत रहेको छ ।

लोकप्रिय गभर्नर सूचीको तेस्रो स्थानमा अलाबामाकी की आइभेइ छिन् । रेड स्टेटकै रुपमा चिनिएको राज्यमा उनी १९ प्रतिशत बिन्दुको मतान्तरसहित निर्वाचित भएकी छिन् । मर्निङ कन्सल्टको सर्भेअनुसार उनको एप्रुभल रेटिङ ६५ प्रतिशत रहेको छ । लोकप्रिय गभर्नरको चौथो स्थानमा न्यू ह्याम्पसायरका क्रिस सुनुन रहेका छन् । स्विङ स्टेटको नाम पाए पनि न्यू ह्याम्पसायरबाट दुबै सिनेटर डेमोक्र्याट छन् । यस्तै गत अक्टुबरको चुनावमार्फत दुबै हाउस अफ रिप्रिजेन्टेटिभ पनि डेमोक्र्याट नै चुनिएका थिए । राज्यको हाउस पनि बहुमत खोस्न डेमोक्र्याटहरु सफल भएका छन् । त्यति हुँदा पनि सुनुनले सात प्रतिशत बिन्दुको मतान्तरसहित पुनः निर्वाचनमा बाजी मारेका थिए । उनको एप्रुभल रेटिङ ६० प्रतिशत रहेको छ ।

सूचीको पाचौं स्थानमा रहेका साउथ डकोटाका गभर्नर डेनिस डउगार्ड भने कार्यकाल सीमाका कारण आउँदो जनवरीबाट बिदा हुँदैछन् । राज्यमा उनको एप्रुभल रेटिङ ५९ प्रतिशत रहेको छ ।

रिपब्लिकन बहुल अर्कान्सासका गभर्नर आसा हन्टचिन्सनले सजिलै पुनः निर्वाचन जितेका छन् । राज्यमा ५८ प्रतिशतले उनको काम मन पराएका हटचिन्सन लोकप्रिय गभर्नरको सूचीमा छैटौँ स्थानमा छन् । सूचीको सातौँ स्थानमा रहेको टेक्सास गभर्नर ग्रेज एबटलाई ५७ प्रतिशत मतदाताले एप्रुभ गरेका छन् । उनले पनि सजिलै पुनः निर्वाचन जितेका थिए । लोकप्रिय गभर्नरको सूचीमा आठौँ स्थानमा नेभेदाका ब्रिअन स्यान्डोभल छन् । पछिल्लो समय डेमोक्रेटिक प्रभाव बढ्दै गएको राज्यमा उनी सबैका प्यारा गभर्नर थिए । कार्यकाल सीमाका कारण पुनः निर्वाचन लड्न नपाएका उनी ५६ प्रतिशत एप्रुभल रेटिङसहित जनवरीमा बिदा हुँदैछन् ।

सूचीको नवौँ स्थानमा जर्जियाका नथान डिल रहेका छन् । कार्यकाल सीमाका कारण जनवरीबाट बिदा हुन लागेका डिलको एप्रुभल रेटिङ ५६ प्रतिशत नै रहेको छ । लोकप्रिय गभर्नर सूचीको दशौँ स्थानमा युटा गभर्नर गेरी हर्वर्ट रहेका छन् । उनको पनि एप्रुभल रेटिङ ५६ प्रतिशत नै रहेको छ । लोकप्रिय मात्र होइन सर्वाधिक अलोकप्रिय गभर्नर सूचीमा पनि रिपब्लिकन नै रहेका छन् । मर्निङ कन्सल्टका अनुसार ओक्लाहामा गभर्नर मेरी फालिन ७५ प्रतिशत ऋणात्मक एप्रुभल रेटिङसहित जनवरीमा बिदा हुँदैछिन् । जुलाई १ देखि सेप्टेम्बर २५ सम्म देशभर ३ लाख ६१ हजार मतदातामाझ गरेका सर्भेको आधारमा यो नतिजा प्रकाशित गरेको मर्निङ कन्सल्टले जनाएको छ ।

(एजेन्सीको सहयोगमा)

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार