वरिष्ठ गीतकार लामा सम्मानित

 वरिष्ठ गीतकार लामा सम्मानित
न्यूह्यामसर । गुरुङ (तमु) समाज न्यूह्यामसरले वरिष्ठ गीतकार बुद्धवीर लामालाई सम्मान गरेको छ । समाजले तमु ल्होछारको अवसरमा राज्यको म्यानचेस्टर शहरमा आयोजित एक कार्यक्रमबीच लामालाई ‘जीएसएनएच अवार्ड अफ एक्सिलेन्स’ प्रदान गरेको हो । लामालाई न्यूह्यामसर गुरुङ समाजका अध्यक्ष शम्भू गुरुङ एवम् न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले संयुक्त रुपमा गुरुङ जातिको पहिरन भ्याङ्ग्रा ओढाउँदै सम्मान पत्र हस्तान्तरण गरेका थिए । ‘मैले यो सम्मान मेरो व्यक्तिगत सम्मान हो भन्ने ठानेको छैन,’ कार्यक्रमलाई सम्बोधन गर्दै लामाले भने– ‘यो सम्मान नेपाली गीत–संगीतप्रतिको सम्मान हो । विदेशमा बसे पनि तपाईंहरुको नेपाली गीत–संगीतप्रतिको माया सम्मानयोग्य छ ।’
 
लामाले ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘हुम्ला जुम्ला गाडीमा कहिले जाने हो’, ‘सबै भन्दानी पैसै ठूलो छ’, ‘धेरैचोटी आँखा जुध्यो तर तिमी हाँसेनौं’, ‘खुट्टा तान्दै गर’ लगायतका सयौं कर्णप्रिय आधुनिक गीतहरुको रचना गरेका छन् । उनका ‘नेपाली हुँ राष्ट्रको गौरब बढाई देउ’, ‘बहादुर जति गोर्खाली’ लगायतका दर्जनौं लोकप्रिय राष्ट्रिय गानहरु छन् । विस २०४० सालबाट सांगीतिक यात्रा आरम्भ गरेका गीतकार लामा नेपाली म्याराथुन धावक हुन् भने एक कुशल प्रशासकसमेत हुन् । नेपालको विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर सेवा गरिसकेका उनी हालै उपसचिव पदबाट सेवानिवृत्त भएका हुन् । 
कार्यक्रममा गायक रोशन गुरुङले लामाद्वारा रचित ‘सबैभन्दा नि पैसै ठूलो छ’ गीत गाएका थिए भने गायिक पविता परियार एवं गायक तिलक श्रेष्ठले पनि लामाकै गीतहरु गाएका थिए । कार्यक्रममा न्यूह्याम्पसायर लगायत न्यूइङ्ग्ल्याण्डका बिभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुको सहभागिता थियो ।
 
 
No comment yet. Be the first one to comment.

लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग