ट्रम्पद्वारा अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा, आठ अर्ब खर्चेर सीमामा पर्खाल लगाउने

ट्रम्पद्वारा अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा, आठ अर्ब खर्चेर सीमामा पर्खाल लगाउने
न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सीको सँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा राष्ट्रिय सुरक्षा संकटकाल घोषणा गरेका छन् । सीमानामा पर्खाल लगाउन संसदले भने जति रकम नदिएपछि ट्रम्पले संकटकाल घोषणा गरेका हुन् । 
 
बिहीबार संसदका दुबै सदनबाट पारित भएको सरकारी खर्च विधेयकमा पर्खालका लागि १.३७५ अर्ब डलर मात्र छुट्याइएको छ । त्यो पनि ट्रम्पले भनेजस्तो कंक्रिट पर्खाल लगाउन नभइ फलामे अवरोध निर्माणका लागि भनेर विधेयकमै प्रष्ट उल्लेख गरिएको छ । उक्त रकमले टेक्सास स्थित रियो भ्याली क्षेत्रमा ५५ माइलको फलामे अवरोध निर्माण हुनेछ । 
 
शुक्रबार खर्च विधेयकमा हस्ताक्षर गरे लगत्तै ट्रम्पले संकटकाल घोषणा सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उनले संसदले दिएको सहितले दिएको सहित कुल आठ अर्ब डलर पर्खालमा खर्चिने लक्षका साथ संकटकाल घोषणा गरेका हुन् । बाँकी ६० करोड डलर ट्रेजरी डिपार्टमेन्ट (अर्थ मन्त्रालय) ड्रग फरफ्युचर फण्डबाट, साढे दुई अर्ब डलर पेन्टागन (रक्षा मन्त्रालय) को ड्रग इन्टरडिक्सन प्रोग्राम र साढे तीन अर्ब डलर पेन्टागनकै मिलिटरी कन्सट्रक्सन बजेटबाट जुटाउने ह्वाइट हाउसको तयारी छ । 
 
ट्रम्पले संसदसँग पर्खालका लागि ५.७ अर्ब डलर माग गरेका थिए । तर, संसद त्यो रकम दिन तयार नहुँदा डिसेम्बर अन्तिम साता देखि जनवरी तेस्रो सातासम्म ३५ दिन अमेरिकी सरकार सटडाउन भएको थियो । संसदमा रहेका डेमोक्र्याटसँग सहमति खोज्न भन्दै तीन साताका लागि अल्पकालिन बजेट व्यवस्था गरि सरकार खुलाइए पनि सहमति जुट्न सकेन । आज शुक्रबार बजेट बिधेयक पारित नभए फेरि सरकार सटडाउन हुन पुग्ने थियो । त्यसैले बिहीबार साँझ संसदका दुबै सदनले पर्खालका लागि ट्रम्पको माग भन्दा न्यून रकम विनियोजन गरिएको बजेट विधेयक पारित गरे । बिहीबार अवेरसम्म पनि ट्रम्प विधेयकमा हस्ताक्षर गर्ने नगर्नेबारे प्रष्ट भइ नसकेको समाचार आएका थिए । अचानक साँझ उनले विधेयकमा हस्ताक्षर गर्ने र लगत्तै संकटकाल घोषणा गर्ने सूचना ह्वाइट हाउसले सार्वजनिक गर्यो । 
 
ट्रम्पले घोषणा गरेको संकटकाल प्रति डेमोक्र्याटहरुले भने तिब्र विरोध जनाएका छन् । यो घोषणा असंबैधानिक रहेको भन्दै ट्रम्पलाई अदालतमा चुनौती दिने उनीहरुको भनाइ छ । 
 
ट्रम्पले २०१६ को राष्ट्रपति निर्वाचनमा सीमाना पर्खाल लगाउने र त्यसको पैसा मेक्सिको तिर्ने नारालाई मूल एजेन्डा बनाएका थिए । तर, मेक्सिकोसँग नभइ अमेरिकी करदाताको रकमबाट राजनीतिक लाभको पर्खाल लगाउन खोजेको भन्दै पनि उनको विरोध भइ रहेको छ ।
No comment yet. Be the first one to comment.

जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग