पूर्वराजाको मधेस भ्रमण र राप्रपाको मेची–महाकाली

 
काठमाडौं । 
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा सक्रिय भूमिकाका लागि देशका विभिन्न स्थानको भ्रमण गर्ने क्रममा प्रदेश दुई अर्थात् मधेसका जिल्लाको भ्रमणको तयारी गरेका छन् । पूर्वराजाको तर्फबाट उनका प्रेस सहयोगी फणी पाठकले मधेस भ्रमणसम्बन्धी तालिका सार्वजनिक गरेका छन् । पूर्वराजाले फागुन २९ गतेदेखि प्रदेश दुई र आसपासका जिल्लाको भ्रमण गर्नेछन् । उनले प्रदेश दुईका धनुषा, सर्लाही र सप्तरी तथा प्रदेश एकमा पर्ने उदयपुरका विभिन्न स्थानको भ्रमण गर्ने तय भएको छ ।
 
राजतन्त्र पुनस्र्थापनाका लागि वा आफ्नो नेपाली राजनीतिमा कुनै स्थान खोज्नका लागि धर्मको आडमा पटक–पटक जिल्ला भ्रमणमा निस्किएका पूर्वराजाले यस पटकको भ्रमणलाई पनि धार्मिक भ्रमण भनेका छन् । उनले विभिन्न मठ–मन्दिरमा पुग्नेगरी कार्यक्रम तालिका तयार गरेका हुन् । काठमाडौंबाट फागुन २९ मा जनकपुर पुग्ने शाहले जनकपुरमा विभिन्न क्षेत्रका व्यक्तिसँग राजनीतिक परामर्श लिने कार्यक्रम तय भएको स्रोतको दाबी छ । उनी फागुन ३० गते सर्लाहीको मलङ्गवा पुग्ने कार्यक्रम बनाएका छन् । मलङ्गवामा उनले दुर्गा मन्दिरमा पूजाआजा गर्नेछन् ।
 
चैत १ गते धनुषाको जानकी मन्दिरमा पूजापाठ गर्ने पूर्वराजाले वासस्थान भने धनुषालाई नै बनाउने छन् । बिहान सबेरै धार्मिक भ्रमणमा निस्किने र राति जनकपुर फर्किएर वास बस्नेछन् । स्रोतका अनुसार जनकपुर बसाइका क्रममा तराईका विभिन्न राजनीतिक दलका नेतासँग राजतन्त्र र हिन्दू राष्ट्रका विषयमा सहमतिको खोजी पूर्वराजाले गर्नेछन् । पहाडी क्षेत्रमा भन्दा राजतन्त्र र धार्मिक मुद्दा तराईमा बलियो एजेण्डा बन्न सक्ने भन्दै पूर्वराजाले जनकपुरलाई आधार बनाएर भ्रमण तालिका बनाएका हुन् ।
 
पूर्वराजा चैत २ गते उदयपुरको गाइघाट पुग्नेछन् । गाइघाटमा पूर्वराजाले राधाकृष्ण मन्दिरमा पूजापाठ गर्नेछन् । त्यस्तै पूर्वराजा चैत ३ गते सप्तरीको सखडा भगवतीको दर्शनका लागि निस्किने छन् । यसअघि पूर्वराजाले पूर्वयुवराज पारस र आमा रत्नको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले आफ्नो मधेस भ्रमण स्थगित गरेका थिए । पूर्वयुवराज र आमा रत्नको स्वास्थ्य अवस्थामा सुधार आएपछि पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
 
पूर्वराजा शाहको भ्रमणका क्रममा कमल थापा नेतृत्वको राप्रपा लगायत राप्रपाका अन्य घटकसमेतले स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेका छन् । उनले राप्रपाका नेतामार्फत् जनमत बुझेर राजतन्त्र र हिन्दू राष्ट्रका विषयमा कुरा बुझ्नेछन् । यसअघि उनले पूर्वी नेपालको भ्रमणका क्रममा पनि वर्तमान राजनीतिक घटनाक्रमका विषयमा बुझेका थिए । भ्रमणका क्रममा उनले नेपाली काँग्रेस र मधेसवादी दलका नेताहरुसँग पनि भेटवार्ता गर्दै आएका छन् ।
 
पूर्वराजा शाह सक्रिय रहेका बेला राजावादी पार्टीका रुपमा स्थापित कमल थापा नेतृत्वको राष्टिय प्रजातन्त्र पार्टीले मेची महाकाली स्वाभिमान यात्रा चलाइरहेको छ । यसको पनि मुख्य उद्देश्य पूर्वराजाको जस्तै हिन्दु राष्ट्र र राजतन्त्र रहेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले हिन्दू राष्ट्र र राजतन्त्रलाई पुनस्र्थापित गर्नका लागि पार्टीले मेची महाकाली स्वाभिमान यात्रा शुरु गरेको बताएका छन् । थापाले सहमतिमार्फत नै नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापित हुने बताएका छन् ।
 
राजतन्त्र र धर्मका विषयमा गोलमेच सम्मेलन गरेर निष्कर्ष निकालिने पनि थापाले बताएका छन् । विगतमा राजतन्त्र हटाउँदा र हिन्दू राष्ट्र बनाउँदा जनमत संग्रह नभएकाले अब पनि जनमत संग्रह नगरिकन पुनस्र्थापित गरिने तर्क गरिरहेका छन् । आफूहरुको एजेण्डामा आम नागरिक सहमत भएकाले अबको निश्चित समयमा आफूहरुले उठाउँदै आएका एजेण्डाले मूर्तरुप पाउने दाबी राप्रपा अध्यक्ष थापाले गरिरहेका छन् । एजेण्डा कार्यान्वयनका लागि आफूहरुले शान्तिपूर्ण आन्दोलनको तयारी गरिरहेको पनि उनले बताएका छन् । नेपाली काँग्रेसको महासमिति बैठकका बेला अधिकांशले हिन्दू राष्ट्रको मुद्दा उठाएकाले राप्रपा निकै उत्साही भएको छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग