हिंसाबाट गुज्रिएकी ‘सिरो’

 
कल्पना घिमिरे     
न्यूयोर्क । 
 
एउटी महिलाका लागि आफ्नो घर परिवार र बालबच्चाभन्दा ठूलो के नै छ र ? विवाहपछि आफ्ना सबै रहर र इच्छा मारेर तिनै परिवार र बालबच्चाका खातिर मरिमेट्ने महिला मात्रै हुन् । त्यसमा पनि नेपाली महिला जसले जन्मदिने बाबुआमा र परिवारलाई चटक्कै छाडेर श्रीमान् र उनकै परिवारका लागि आफ्नो जीवन समर्पण गरिदिन्छन् । गरिबी, अशिक्षा, बेरोजगारी र जीवन गुजाराका लागि श्रीमान्को भर पर्नुपर्ने अवस्थाले कतिपय महिलाले हिंसाको शिकार हुनुपरेको देखेका–भोगेका त छँदै छौं । तर, अमेरिकासम्म आइपुगेका सक्षम महिला नै हिंसापीडित हुनुपरेको देख्दा तपाईंलाई पनि अचम्म लाग्न सक्ला ।  
महिला सशक्तीकरण र अधिकारको कुरा गरिरहँदा कतिपयले आफूमाथि अत्याचार भएको जान्दाजान्दै पनि प्रतिकार गर्न सक्दैनन् । नेपालमै रहेका महिलाको हकमा मात्र होइन अमेरिका जस्तो महिलाको पक्षमा शक्तिशाली कानुन भएको मुलुकमा पनि पढेलेखेका र शिक्षित नेपाली महिलाले नै हिंसा खेपिरहनु परेको छ ।   
अमेरिका आउनु अघिसम्म त सीमा चौधरी (नाम परिवर्तन)ले देख्ने सपना पनि कहाँ सानो थियो र ? आईटी क्षेत्रमा स्थापित महिला हुने कत्रो सपना थियो उनको । तराईको सामान्य गाउँमा हुर्किएकी सीमाका बाबु–आमा, जो आफूले पढ्न नपाए पनि सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि आफ्ना ४ छोरी र २ छोरालाई स्नातक तहसम्मको अध्ययन गराएका थिए । सीमाले त्यो समय सन् २००३ मै कलेज अफ इन्फरमेसन टेक्नोलोजी काठमाडौंबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) गरेकी थिइन् । विदेशमा आईटी क्षेत्रमा पढ्न सके धेरै अवसर छ भन्ने कुरामा पनि उनी निकै जानकार थिइन् । तर, मेहनतले मात्रै होइन समय र भाग्य आफ्नो पक्षमा भएन भने कहिलेकाहीँ मान्छेले थुप्रै चुनातीहरु झेल्नुपर्ने रहेछ । सीमाले पनि जीवनमा पनि सोंच्दै नसोंचेका बाधा अड्चनसँग जुध्नुप¥यो । 
सबैको माया पाएर पुल्पुलिएकी परिवारकी कान्छी छोरीलाई अमेरिकामा स्थापित भइसकेको आईटी पढ्दै गरेको केटाको परिवार हात माग्न आएपछि उनका बाबुआमाले पनि नकार्न सकेनन् । बाराको कलैयाको मधेसी समुदायको एक सामान्य परिवारमा राम्रो संस्कारमा हुर्किएकी सीमालाई विवाह अघि हिंसा भनेको के हो भन्ने थाहै थिएन । ‘मेरो परिवार, नाता गोता र आफन्तमा पनि कसैले महिलालाई कुटपिट गरेको मैले देखिन,’ पङ्तिकारसँग उनी निर्धक्क बातचित गर्दै थिइन्, ‘हिन्दी फिल्म, टेलिशृङ्खलाहरुमा श्रीमान्ले निर्दोष श्रीमतीलाई कुटपिट र अन्याय गरेको देख्दा वास्तविक जीवनमा पनि यस्तो हुन्छ र भन्ने लाग्थ्यो । सन् २००६ पछिका आफ्नै यथार्थ भोगाइबारे चलचित्र बनाउने हो भने ती पुराना फिल्महरुभन्दा निकै दर्दनाक र सुपरहिट होला भन्ने लाग्छ ।’ 
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा टेक्सासको डालासमा गरिएको ‘फस्ट नेपाली वुमन आन्त्रप्रेनरसिप एण्ड लिडरसिप समिट २०१९’ कार्यक्रममा आफूले अमेरिका आएपछि गरेका दुःख संघर्ष उनले सुनाएकी थिइन् ।  
आफ्ना तीन दिदीहरुले पारिवारिक जीवन खुसी–खुसी बिताएको देख्दा उनलाई पनि त्यस्तै जीवन जिउने रहर हुन्थ्यो रे । जीवनमा सुख–दुःख साट्दै श्रीमान्सँग हातेमालो गर्दै हिँड्ने इच्छा जाग्थ्यो तर भोगाइ उनले चाहेको भन्दा बिल्कुलै फरक भइदियो । 
सीमाका बाबु आमाले पनि केटाको घरपरिवार राम्रै बुझेर छोरीको विवाह गरिदिएका थिए । विवाह भएको दोस्रो दिनमै श्रीमान्ले मन नपराएको केटी भन्दै २ झापड हानेका थिए । त्यतिबेला उनले परिवारका सदस्यलाई भने पनि कसैले पत्याउने थिएनन् । उनले पनि कसैलाई भनिनन् । ‘विवाहको दोस्रो दिनबाटै मैले श्रीमान्को हिंसा खेप्न सुरु गरें,’ उनी  आफ्ना विगत सम्झिँदै थिइन्, ‘श्रीमान्ले आमाबाबुका लागि मैले विवाह गर्नुपरेको र मलाई मन नपरेको भन्दै डिभोर्स दिन दबाब दिँदै मलाई कुटेको थियो ।’ श्रीमान् नेपालमा रहुन्जेल कहिलेकाहीँ घरझगडा र कुटपिट हुन्थ्यो । उनले त्यसलाई हिंसाका रुपमा हेर्दै हेरिनन् । 
केही समयपछि उनका श्रीमान् अमेरिका फर्किहाले । उनी श्रीमान्कै परिवारसँग बसिन् । उनी अमेरिका नआउन्जेल मुस्किलले ३ पटक श्रीमान्सँग भेट भयो त्यतिबेला पनि उनीमाथि कुटपिट र हिंसा भइरह्यो । सन् २००८ मा अमेरिका आएपछि त झन् उनले सधैं मानसिक र शारीरिक हिंसा खेप्नुप¥यो । 
‘७ वर्षसम्म लोग्नेको मानसिक र शारीरिक तनाव झेल्दा मान्छे कति विक्षिप्त भइसकेको हुने रहेछ । मैले सबै बुझेर पनि परिवार र श्रीमान्विरुद्धको आवाज बाहिर ल्याउन आँट गरिन,’ उनले विवाहपछिको संघर्षका कथाव्यथा सुनाइन्– ‘मानसिक रुपमा यति कमजोर भइसकेकी थिएँ कि जीवनमा हाँस्न नै बिर्सिसकेको रहेछु ।’ 
‘आईटी पढेर केही गरांैला भन्दा पढ्न जान नदिने, आफू काम नगर्ने, मैले कमाएको सबै पैसा उसलाई बुझाउनुपर्ने, घरपरिवारको मतलब नगरी पैसा सबै खर्च गरिदिने, तास खेल्ने, त्यसमाथि पनि सानोतिनो कुरामा निहुँ खोजेर सधैं झगडा गर्ने, कुटपिट गर्न थाल्यो,’ उनी भन्दै थिइन्, ‘त्यति गर्दा पनि म सधैं घरको वातावरण राम्रो बनाउन कोसिस गरिरहन्थें । बाबुआमाको झगडाले मेरा दुई छोराछोरीमा समेत मानसिक असर पर्ला कि भनेर म सधैं चिन्तित हुन्थें ।’
सीमाले आफ्नो भोगाइ सबिस्तार सुनाइन्, ‘विवाह गरेर दिएपछि आखिर सहनु नै पर्छ भन्ने लाग्थ्यो । तर, त्यस बीचमै मेरो श्रीमान्ले अर्को एउटी केटीसँग विवाह गर्ने अन्तिम तयारी गर्दै गरेको थाहा पाएँ । मैले त्यो केटीसँग सम्पर्क गरेर आफ्नो श्रीमान् विवाहित र २ बालबच्चाको बाउ भएको बताएँ । मलाई मेरो श्रीमान्को विवाहको भन्दा पनि ती म जस्तै अर्की महिलाको चिन्ता भयो । उनी हिंसाको भुमरीमा पर्नुहुन्न भन्ने मलाई लाग्यो । मेरो ती महिलासँग भएको कुराकानीबारे सबै थाहा पाएर मलाई मरणासन्न हुने गरी कुटपिट ग¥यो । मेरो यतिका वर्षको धैर्यता र सहनशीलताको बाँध अब भत्कियो । मेरा साना नानीहरु लिएर म एक्लै बस्छु भन्ने आँट आयो । बेस्सरी कुटेर शरीर हलचल गर्न नसक्ने अवस्थामा ट्वाइलेटमा गएर ९११ मा फोन गरें । प्रहरी आएर सोधपुछ गर्दा आज मात्रै कुटेको हो भनें । किनकि ६ वर्षदेखि हिंसा र कुटपिट गरिरहेको भन्दा श्रीमान्लाई १५ वर्षसम्म जेल हाल्न सक्ने भन्दै ‘आज मात्रै कुटेको हो भन्नु भन्ने’ श्रीमान्को परिवारको दबाब थियो । 
एउटी महिलाले कतिसम्म आफ्नो परिवार र श्रीमान्लाई बचाउन सक्छे भन्ने गतिलो उदाहरण थियो त्यो । आफूमाथि अत्याचार गर्ने श्रीमान्लाई नै फेरि बचाउन तयार भइन् उनी । त्यसपछि उनी दुई बच्चा बोकेर घरबाट निस्किइन् । उनलाई केही समयका लागि आफ्नी साथीले वास बस्न दिएकी थिइन् । ‘अमेरिकामा एकल आमाले साना नानीहरु झेल्दै काम गर्न सहज थिएन । त्यो समयमा दुई बच्चाको पढाइ, स्कुल, हेरचाह गर्दै समय व्यवस्थापन गरेर काम गर्नुपर्दाको अप्ठेरो र आर्थिक समस्याबारे म बयान गर्नै सक्दिन । तर, जीवनमा अलिकति पनि निराश भइन । कहिल्यै हार खाइन,’ उनले भनिन्– ‘किनकि मैले मेरा सन्तानलाई राम्रो वातावरणमा हुर्काउनु थियो । संस्कार सिकाउनु थियो । ताकि भोलि मेरो छोराले कुनै महिलामाथि हिंसा नगरोस् । सबै महिलालाई सम्मान गर्न सिकोस् । मेरो छोरीले म जस्तो कमजोर भएर हिंसा सहनु नपरोस् । अन्यायविरुद्ध प्रतिकार गर्न सकोस् ।’
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग