नेकपाकाे समानान्तर कमिटि बनाउने माधव नेपालकाे चेतावनी

नेकपाकाे समानान्तर कमिटि बनाउने माधव नेपालकाे चेतावनी

काठमाण्डौं

विवादै विवादको चाङ रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' भित्र फेरि अर्को नयाँ विवाद आउने सम्भावना बढेको छ । पार्टीकै एक शीर्ष नेताले देशभर समानान्तर कमिटी गठनको चेतावनी दिएपछि नेकपामा नयाँ विवाद आउने सम्भावना देखिएको हो ।

पछिल्लो पटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच जिल्ला नेतृत्वका विषयमा सहमति जुटेसँगै वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटी गठनको चेतावनी दिएका छन् । सचिवालयमा सहमति नजुटाई दुई अध्यक्षले मात्र जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोके आफूलाई मान्य नुहने नेता नेपालको चेतावनी छ ।

‘नेता नेपालले सचिवालय बैठकभन्दा बाहिरबाट जिल्ला नेतृत्व टुंग्याए समान्तर कमिटी बनाउने चेतावनी दिनुभएको छ । उहाँलाई फकाउने प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको प्रयास अझै सफल भएको छैन, ’ नेकपाको सचिवालयका एक सदस्यले भने, ‘प्रचण्ड केही दिनका लागि पत्नी सीताको उपचारका लागि अमेरिका उडेपछि यो विषय थप जटिल भएको छ ।’

सरकारले फागुन २४ गते सीके राउत समूहसँग ११ बुँदे सहमति र फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेपछि नेकपाका शीर्ष नेताबीच संवाद शुरु भएको थियो ।

यस्तो सहमति लगत्तै सचिवालय सदस्यहरु नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो, जहाँ राउतसँग भएको सहमति र पार्टी एकता सम्बन्धी विषयमा छलफल भएको थियो ।

त्यसपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले शुरुमा नेपाल, खनाल र गौतमसँग छलफल गरेका थिए । पछि अध्यक्ष ओलीले नेपालसँग पनि छुट्टै छलफल गरेका थिए । जहाँ सीके समूहसँगको सहमति र विप्लव समूहमाथि प्रतिबन्ध लगाउने विषयका साथै एकता सम्बन्धी वाँकी काम टुंगाउने विषयमा छलफल भएको थियो ।

सीके राउत र विप्लवमाथि प्रतिबन्धवारे पहिला असन्तुष्ट नेता नेपाल र खनाल प्रधानमन्त्रीसँगको छलफलपछि सरकारी निर्णयको पक्षमा उभिएका थिए । तर, पार्टी एकता सम्बन्धी दुई अध्यक्षको सहमतिमा चाहिँ नेता नेपाल, खनाल, गौतम र श्रेष्ठको असन्तुष्टि कायमै रहेको स्रोत बताउँछ ।

प्रचण्डले पूर्वएमाले समूहका नेताहरुलाई कन्भिन्स गर्न सुझाएपछि प्रधानमन्त्री ओलीले शुरुमा नेपाल, खनाल र गौतमसँग छलफल गरेका थिए । तर, त्यहाँ पार्टी एकता सम्बन्धी वाँकी काम टुंगाउने विषयमा उनीहरुबीच सहमति बन्न सकेको थिएन ।

७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुंगो लागिसकेको बताइएको छ । पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्तावमा ओली र प्रचण्डबीच सहमति बनेको स्रोतको भनाई छ ।

तर, ४५ जिल्लामा नेतृत्व लिने सहमति भएपनि पूर्वएमालेको समूहबीच भागबन्डा मिलेको छैन ।

नेता नेपालले आफ्नो चासो सम्बोधन गर्नुपर्ने अडान यहीनेर राखेको स्रोतको भनाई छ । कुन प्रदेशमा पूर्व पार्टी कसले कुन–कुन जिल्ला लिने भन्ने विषयमा अन्तिम टुंगो लागेको छैन । तर, मोटोमोटी सहमति भने बनेको छ । ठीक यहीबेला प्रचण्ड अमेरिका गएका छन् । उनी अमेरिकामै रहेको बेला जिल्ला नेतृत्वको जिम्मेवारी तोकिने सम्भावनासमेत रहेको उच्च स्रोत बताउँछ ।

त्यसो त तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १० महिना पुगेको छ । तर, यो १० महिनामा पार्टी एकताका आधा भन्दा बढी काम टुंगिन सकेका छैनन् । यस अघि गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटव्यूरो गठन, केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चको गठन, राष्ट्रिय परिषदमा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, जनवर्गीय संगठनहरुको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवं मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन ।

यसबाहेक राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने काम पनि सकिएको छैन ।

पार्टी एकताको पछिल्लो १० महिनामा दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा विष्णु पौडेल र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवत्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठनको काम सकिएको छ ।

तर, प्रदेश कमिटीको नामावली स्थायी कमिटीबाट अनुमोदन हुन वाँकी छ । नेकपाले पछिल्लो पटक पुस १३ गते स्थायी कमिटीबाट बनाइएको कार्यदलले पनि काम गर्न सकको थिएन । कार्यदलमा पनि विवाद भएपछि मूल र असन्तुष्ट समूहले अलग अलग प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका थिए ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग