माउन्ट साइनाईका बाल चिकित्सकको इच्छा, न्यूयोर्ककै नेपाली समुदायको भरपूर सेवा

माउन्ट साइनाईका बाल चिकित्सकको इच्छा, न्यूयोर्ककै नेपाली समुदायको भरपूर सेवा
प्रभात भट्टराई
न्यूयोर्क
डाक्टर आशुतोष दासले व्यावसायिक र प्राज्ञिक जीवनका हरेक चरणमा कठिन परीक्षाहरु पास गरेका छन् । चिकित्साशास्त्र अध्ययनका लागि नेपालमा लिइने एमबीबीएस प्रवेश परीक्षा उनको जीवनको पहिलो जटिल चुनौती थियो । त्यसलाई पार लगाउँदै पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट एमएमबीबीएस उत्तीर्ण गरे । दुई वर्ष त्यहीँ काम गरे । 
त्यसपछि उनले अर्को परीक्षाको बाटो रोजे– युएसएमएलई । तीन चरणमा जाँच हुने युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जाम (युएसएमएलई) विश्वभरका धेरैजसो चिकित्सा अध्येताको सपना हो । किनभने यो जाँच पास गरेपछि मात्र अमेरिकी अस्पतालमा एमडी गर्न पाइन्छ । दुनियाँको सबैभन्दा उच्च गुणस्तरीय स्वास्थ्य अनुसन्धान हुने मुलुकमा एमडी गर्न पाउनु भनेको ‘करियर अब सेट भयो’ भन्ने बुझाइ रहने गरेको छ । 
सोही कारण दासलाई पनि युएसएमएलईले लोभ्यायो । तीन चरणका अत्यन्त कठिन परीक्षा पार गरेर उनी सन् २००६ मा अमेरिका आए । बाल रोगप्रति उनको रुची थियो । त्यहीअनुरुप न्यूयोर्कस्थित अमेरिकाकै उत्कृष्टमध्येमा पर्ने माउन्ट साइनाई हस्पिटल आबद्ध ब्रोङ्स केयर हेल्थ सिस्टममा बाल रोग (पेडियाट्रिक)बारे एमडी गरे । तीन वर्षे एमडी अध्ययनपछि एक वर्षको प्रशिक्षणसम्बन्धी कोर्ष गरे । अध्ययन पूरा भएपछि त्यही हस्पिटलमा सन् २०१० बाट बिरामी जाँच र एमडी प्रशिक्षण थाले । अहिले उनको हस्पिटलमा उनीअन्तर्गत ४२ जनाले एमडी गरिरहेका छन् । 
अमेरिकामा एमडी प्रशिक्षार्थीलाई अध्यापनसमेत गराउने डाक्टर । दासको जीवन राम्ररी चलिरहेको थियो । म्यानहाटन बसे पनि आफ्नो समुदायका व्यक्तिहरुसँगको भेटघाटका लागि ज्याक्सन हाइट्स आउजाउ चलिरहन्थ्यो । यस क्रममा पछिल्ला केही वर्षमा यहाँ नेपाली समुदाय बढ्दै गएको उनको अनुभव थियो । ज्याक्सन हाइट्समा बाल रोगबारे क्लिनिक सञ्चालनका लागि उनलाई आग्रह गर्ने नेपालीको संख्या बढ्न थाल्यो । यसै क्रममा गत वर्षबाट आफूले अनुसन्धान सुरु गरे र अन्ततः यसपालीदेखि क्लिनिक सञ्चालनमा ल्याएका छन् । 
यो उनले जीवनमा दिन लागेको नौलो परीक्षा हो । ‘साधारणतया अमेरिकामा रहेका नेपाली डाक्टरहरु आफ्नो क्लिनिक सञ्चालनमा ल्याउन हिच्किचाउँछन्,’ उनी भन्छन्– ‘केही जोखिम लिएरै भए पनि आफ्नो समुदायका लागि नयाँ गर्न सकिन्छ भने किन पछि हट्नु भनेर हिम्मत गरेको हुँ ।’ उनी न्यूयोर्कमा बालबालिकासम्बन्धी क्लिनिक सञ्चालनमा ल्याउने पहिलो नेपाली डाक्टर बनेका छन् । अमेरिकी कानुनअनुसार उनले २१ वर्ष उमेरसम्मको बच्चालाई हेर्न पाउँछन् । ४०–३३ ७६ स्ट्रिटमा खोलिएको सिटीवाइड पेडियाट्रिक्स क्लिनिकमा तत्काल साताको तीन दिन बस्ने उनले जानकारी दिए । मंगलबार र बिहीबार ९ देखि ६ बजेसम्म र शनिबार १० देखि २ बजेसम्म उनी क्लिनिकमा उपलब्ध हुनेछन् । त्यसबाहेक चाप बढ्यो भने आइतबार पनि खोल्ने उनले जानकारी दिए । 
न्यूयोर्कमा रहेका नेपाली समुदायलाई आफ्नै भाषामा सेवा र सहयोग पु¥याउनु नै आफ्नो पहिलो ध्येय रहेको उनले जानकारी दिए । ‘यहाँको बीमा प्रणाली एकदमै जटिल छ, त्यसैले नयाँ आउने नेपाली परिवारले बीमा कसरी लिने भन्ने पनि जानकारी हासिल गर्न कठिन हुन्छ,’ उनले भने– ‘मेरो प्रयास नेपाली अभिभावकहरुलाई बीमा प्रणाली सिकाउनेदेखि बच्चाको स्वास्थ्यसम्बन्धी सबै सुविधा पु¥याउनमा हुनेछ ।’ न्यूयोर्क आएका नेपालीहरुलाई स्वास्थ्य क्षेत्रको सुविधाका लागि हात समातेर एक बिन्दुबाट अर्को बिन्दुसम्म पु¥याउन सकियोस् भन्नेमा आफू लागिपर्ने उनको भनाइ छ । ‘नेपालबाट अमेरिका आउँदा सुरुमा बाटो देखाइदिने कोही भएन भने हराइन्छ,’ उनी भन्छन्– ‘म त्यो बन्न चाहन्छु । सबै क्षेत्रमा नभए पनि कम्तीमा स्वास्थ्यमा त्यति गर्न सक्छु भन्ने लाग्छ ।’
बच्चाको स्वास्थ्यबारे अमेरिकी कानुन धेरै संवेदनशील छ । डाक्टर जाँचको प्रमाणपत्रबिना बच्चालाई विद्यालय भर्ना पनि गर्न सकिन्न । कतिपय अस्पतालले यस्तो प्रमाणपत्र दिन ७–१० दिनसम्म लगाउने गरेकोमा आफूले जतिसक्दो चाँडो उपलब्ध गराउने उनले बताए । अर्को समस्या उनले भाषामा देखेका छन् । ‘भाषाको कठिनाइका कारण बच्चाको स्वास्थ्यसम्बन्धी कैयन् प्रश्न मनमै गुम्स्याएर बस्ने नेपाली अभिभावक पनि हुनुहुन्छ,’ उनी भन्छन्– ‘मेरो उपस्थितिले त्यो समस्या रहँदैन ।’ उनका अनुसार धेरैजसो अवस्थामा बच्चालाई डाक्टरकहाँ लगिराख्नु पर्दैन । फोनबाटै डाक्टरसँग कुरा गर्न सकिन्छ । म अविभावकहरुसँग २४ घण्टा नै सेल फोनमा उपलब्ध हुनेछु ।’
नेपाली समुदायका धेरै व्यक्ति स्वास्थ्य जाँचका लागि पुग्ने गरेको एलमष्ट हस्पिटलसँग पनि उनी आबद्धताको प्रक्रियामा छन् । साथै आफूले हेरिरहेको कुनै बच्चा विशेष कारणले अचानक एलमष्ट हस्पिटल जानुप¥यो भने त्यहाँ भएको स्वास्थ्य जाँचको सम्पूर्ण हिष्ट्री हेर्न मिल्ने विद्युतीय सम्पर्क स्थापित गरिसकेको उनले बताए । बच्चालाई चाहिने खोपहरु, रगत जाँच लगायतका सुविधा उनको क्लिनिकमै उपलब्ध छन् । 
राजविराजमा जन्मिएका दासको युवा उमेर पोखरामा बित्यो । बुबा पोखरास्थित फरेष्ट्री क्याम्पसमा काम गर्नुहुन्थ्यो । सोही कारण स्कुलदेखि एमबीबीएससम्म त्यहीँ गरे । त्यसपछि दुई वर्ष मणिपाल शिक्षण अस्पतालमा काम गरेका दासका मातापिता नेपालमै बस्छन् । न्यूयोर्कमा उनका एक छोरी र श्रीमती छन् ।
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग