रोजगारी सिर्जना गर्ने भन्छौँ , फेरि रेमिट्यान्सको आम्दानी देखाइरहेका छौँ

रोजगारी सिर्जना गर्ने भन्छौँ , फेरि रेमिट्यान्सको आम्दानी देखाइरहेका छौँ
प्राडा पुष्पराज कँडेल
उपाध्यक्ष, राष्ट्रिय योजना आयोग
राष्ट्रिय विकास परिषद्को बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको १५औँ पञ्चवर्षीय योजना पारित गरेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय विकास परिषद्का अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले १५औं योजनाले पाँच वर्षको विकासको योजना मात्र प्रस्तुत गरेको नभई यस शताब्दीको अन्त्यसम्ममा नेपालको विकासको प्रारुप तयार गरेको बताए । प्रधानमन्त्री ओली योजना आयोगको पनि अध्यक्ष हुन् । उनले यस योजनाले विस २०९९ सम्ममा नेपालको विकासको अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट खाका दिएको पनि बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी योजना थप परिष्कृत भएर आउनुपर्ने बताए । उनले चौधौं योजनाले लिएका कतिपय लक्ष्य नजिक पुगेको सन्तोष व्यक्त गर्दै आगामी योजना थप परिष्कृत भएर आउनु पर्नेमा जोड दिए । अर्थमन्त्री खतिवडाले चौधौं योजनाले राखेको आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत राखिएकोमा अहिले त्यसको नजिक पुग्न लागिएको भन्दै दीर्घकालीन सोचसहितको आगामी ५ वर्षे योजना अघि बढाएको भन्दै सरकारको आगामी कार्यकालको योजना पनि यही रहेको बताए । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष प्राडा पुष्पराज कँडेलचाहिँ १५ पञ्चवर्षीय योजनाबारे के भन्छन् त ? मोहन बास्तोलाले कँडेलसँग गरेको कुराकानी—
 
राष्ट्रिय विकास परिषद्को बैठक भर्खरै सम्पन्न भयो ।  बैठकका सन्दर्भमा तपाईंको धारणा के छ ? 
हामीले करिब आठ महिना लगाएर त्यो डकुमेन्ट तयार पारेका थियौँ । त्यसलाई प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्षहरु, सरोकारवालाहरु उपस्थित भएर, हार्दिकतापूर्वक स्वीकार गरेर मार्गनिर्देशन पनि दिनुभएको छ । म उत्साहित भएको छु ।  
 
सुझाव के–कस्ता खालका प्राप्त भए ?
सुझाव धेरै आएका छन् । कतिपय कुरा त त्यहि डकुमेण्ट भित्र रहेका कुराहरुमा पनि आएका छन् । तर, ती सबै सुझावलाई हामीले नकरात्मक रुपमा लिएका छैनौं । त्यसले झन् हाम्रो त्यो डकुमेण्ट बलियो भएको महसुस हामीले गरेका छौँ । कतिपय सन्दर्भमा बुझाइको कमजोरीले पनि समस्या भएको छ । समावेश गर्ने सन्दर्भमा पनि कतै तलमाथि भएको छ । ती सुझाव पनि आएका छन् । कतिपय परस्पर विरोधी खालका सुझाव पनि आएका छन् । परस्पर विरोधी सुझावलाई पनि हामीले एक पटक हेरेर अध्ययन गरेर के गर्दा हुने रहेछ सकेसम्म मिलाएर समावेश गर्ने प्रयास गर्छौं र समाधानको बाटो खोज्छौँ । 
 
तपाईंले केही त्यस्ता परस्पर विरोधी सुझाव आएका छन् भन्नुभयो, जस्तै ? 
जस्तै, सुझावकै क्रममा समाजवाद भनियो समाजवादको परिभाषा के–हो ? समाजवाद उन्मुख भनेका छौँ, त्यो भनेको के हो ? समृद्धि भनेका छौँ त्यो भनेको के हो ? यी कुरा पनि परिभाषित हुनुप¥यो भनेर सुझाव आएका छन् । त्यसैगरी आर्थिक वृद्धिदर महत्वाकांक्षी भयो । एकातिर तिमीहरु देशमै रोजगारी सिर्जना गर्ने भन्छौँ । फेरि रेमिट्यान्सको आम्दानी देखाइरहेका छौँ । यो पनि परस्पर विरोधी भयो भन्नेजस्ता सुझाव पनि आएका छन् । हामी ती सबै कुरालाई हेरेर उपयुक्त ढंगले समाधान गर्ने प्रयास गर्ने छौँ । 
 
आगामी चार वर्षभित्रमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्नेलगायतका सन्दर्भ अलिक बढी महत्वकांक्षी भए भन्ने सुझाव वर्तमान अर्थमन्त्रीबाटै पनि आएको छ । यो अलिक कठिन छ । निकै मेहनतले लाग्नुपर्छ भनेर उहाँले भन्नुभएको छ । उहाँ राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष र पूर्वगभर्नर पनि हो । यो सन्दर्भमा चाहिँ तपाईं के भन्नुहुन्छ ? 
महत्वाकांक्षी त छ नै, महत्वाकांक्षी नभई प्रगति गर्न सकिन्छ । हामीले थाहा पाएर जानेर नै महत्वाकांक्षी बनाएका हौँ । व्यक्तिगत जीवनको कुरा गर्ने हो भने पनि जसले बढी आकांक्षा राख्छ उसले नै बढी प्रगति गर्छ । त्यसैले हामीले यो केही महत्वाकांक्षी राखेका छौँ, यो सत्य हो । तर, यो सम्भव नै नहुने चिज पनि होइन । 
जहाँसम्म दोहोरो अंकको आर्थिक वृद्धिदर भन्ने कुरा छ । यो केही चुनौतीपूर्ण पनि छ । हामीले यो आकांक्षा राख्दै गर्दा आफ्नो र विभिन्न देशको पनि परिस्थितिलाई हेरेका छौँ । त्यसैले हामीले गर्नै सक्दैनौँ कि भनेर आपत नै मान्नु पर्ने अवस्था पनि छैन । त्यसका लागि हामी सबैले समन्वय गरेर सबैले एउटै आवाज एउटै लक्ष्यसहित अघि बढ्नुपर्छ । त्यो सम्भव छ । १५औँ पञ्चवर्षीय योजनाको सुरु आर्थिक वृद्धिदर ९ दशमलव ६ प्रतिशत हो । अन्तिममा १० दशमलव ३ प्रतिशतसम्म पुग्ने भनेको हो । अहिलेकै हिसाब गर्ने हो भने हामी करिब ७ दशमलव ७ प्रतिशतको हाराहारीमा छौँ । त्यसैले यो अलिकति बढाउने कुरा असम्भव नै हो भनेर भन्ने अवस्था छैन । हामीले यी चालु अवस्थामा रहेका ठूला–ठूला परियोजना सम्पन्न गर्न सक्ने हो भने त्यसले अर्थतन्त्रको आकारलाई निश्चित रुपमै बढाउँछ र हामीले सजिलै त्यो लक्ष्य भेट्न सक्छौँ । अर्थतन्त्र बढ्नु भनेको नै आर्थिक वृद्धिदर बढ्नु हो । 
 
तपाईंहरुले गरिबी घटाउने, बेरोजगार दर घटाउने जस्ता कुरालाई पनि यो पञ्चवर्षीय योजनामा समावेश गरिएको छ । त्यो कत्तिको सम्भव छ ? 
हो, हामीले गरिबी घटाउने, बेरोजगार दर घटाउने जस्ता लक्ष्य लिएका छौँ । गरिबी पछिल्लो तथ्याङ्कअनुसार १८ दशमलव ७ प्रतिशत भनिएको छ । त्यसलाई घटाएर कम्तीमा १३–१४ मा ल्याउने भनेका छौँ । त्यो हामी योजनाअनुसार नै अघि बढेका छौँ । जहाँसम्म बेरोजगारी दर घटाउने भन्ने कुरा छ त्यसमा पनि हामी सचेत ढंगले नै अघि बढेका छौँ । बेरोजगारी दर घटाउने भनेको रोजगारीको अवसर सिर्जना गर्ने भनेको हो । अहिले स्थायी सरकार छ । यहाँ लगानीकर्ताहरु पनि उत्साहित भएको हामीले पाएका छौँ । त्यो भनेको उहाँहरु लगानीका लागि वातावरण बन्दै गएको छ भन्नेमा हुनुहुन्छ । लगानीको वातावरण बन्दै जाने हो भने रोजगारीको वसर पनि सिर्जन हुँदै जान्छ र बेरोजगारी दर पनि स्वतः घट्दै जान्छ भन्नेमा हमी आशावादी छौँ । हामी अहिले नयाँ काम सिर्जना गर्नुपर्छ भनेर लागेका छौँ । नयाँ कामको सिर्जना गर्नु भनेको पनि रोजगारीको अवसर सिर्जना गर्नु नै हो । श्रम मन्त्रालयले पनि केही योजना अघि बढाएको छ । त्योसँगै हामीले विकासको गतिलाई पनि अघि बढाउनु जरुरी छ । 
 
अहिले मुलुकमा दुई तिहाई नजिकको सरकार छ । वर्तमान सरकारले सुशासनमा न्याय थप्यो भने समृद्धि हुन्छ । समाजवाद भनेको त्यही हो भन्दै आएको छ । अझ भन्ने हो भने अहिलेको देशको प्रधानमन्त्रीले त अहिलेसम्म नेपाली जनताले खाली पोखरी मात्रै देखे । अब यो सरकारले माछासहितको पोखरी देखाउँछ भनेर आर्थिक अवस्था चलायमान हुने संकेत तपाईंहरुको बैठकमा समेत सम्बोधन गर्दा उल्लेख गर्नुभयो । यो सम्भव छ ? 
हामीले समृद्धिका लक्ष्यहरु नै डकुमेण्टमा समावेश गरेका छौँ । हामीले खुसी नेपाली समृद्ध नेपालको अभियानलाई पनि समावेश गरेका छौँ । त्यहाँ खुशी भनेको के ? सुखी भनेको के ? यी सबै कुरालाई समावेश गरेका छौँ । सुखी र न्याय अन्तरसम्बन्धित छन् । जहाँ न्याय हुन्छ, त्यहाँका जनता सुखी र खुसी हुन्छन् । हामीले परिकल्पना गरेको खुसी नेपाली समृद्ध नेपालकै अवधारणमा १५औँ पञ्चवर्षीय योजना ल्याएका छौँ । समाजवादमा जानका लागि हामीले सबैभन्दा पहिला समृद्धिलाई ध्यान दिनुपर्छ । हामी यो कुरामा सचेत छौँ ।
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग