अन्तर्वार्ता

अमेरिकामा संस्कृत र योगको उपादेयता

अन्तर्वार्ता: डा. बद्री पोख्रेल
अध्यक्ष, जयतु संस्कृतम्, नेपाल

डा. बद्री पोख्रेल संस्कृतका विद्वान र योगका साधक हुनुहुन्छ । धेरै वर्ष नेपालको सरकारी सेवामा विताएर झण्डै एक दशकदेखि संस्कृतको सेवामा पुरै समर्पित हुनुभएका डा. पोख्रेलले संस्कृत दर्शनमा आचार्य र अर्थशास्त्रमा पिएचडी गर्नु भएको छ । १८ महापुराणलाई अध्याय पिच्छेको सारांश लोखेर प्रकाशित गरिसक्नुभएका पोख्रेलले नेपाली, अंग्रेजी र संस्कृत भाषामा साहित्य, अर्थशास्त्र, यात्रा विवरण आदि विषयमा दुईदर्जन भन्दा बढी पुस्तक लेखिसक्नुभएको छ । विद्वान डा. पोख्रेलले लेखेका नेपाली महापुराणहरु अमेजन किन्डलमा समेत उपलव्ध छ । उहाँले नेपालका ७७ जिल्ला, विश्वका अन्टार्टिका लगायतका सबै महादेश र ४० वटा देशको समेत भ्रमण गर्नुभएको छ । जयतु संस्कृतम्को अध्यक्ष लगायत धेरै समाजिक संस्थामा आवद्ध हुनुभएका पोख्रेलले हाल अमेरिकामा वसेर संस्कृतको प्रचार प्रसार गरिरहेको सन्दर्भमा विश्व सन्देशको तर्फबाट योगेश आदीले लिएको अन्तर्वार्ता –

१. कसरी र किन जोडियो पुराणसंग सम्बन्ध ?

  • परिपक्वता आएपछि जो सुकैलाई वा सामान्यतः उमेरको उत्तरार्धतिर पुगेपछि हरेक मान्छेलाई धन सम्पत्तिको नभएर शान्तिको आवश्यकताको अनुभूतिहुन थाल्छ । त्यस वेलाको शान्ति प्राप्तगर्ने श्रोत र उपाय पौराणिक ग्रन्थ, दैवी गाथा र सत्यकथा नै हुन्छन् भन्ने महसूस गरेर सवैलाई शान्तिमय जीवन विताउने उपाय पस्कने क्रममा म पुराणको प्रचारतिर लागेको हूँ ।

२. पुराण धर्म हो, वा कर्म हो वा अनुशासन ?

  • पुराणको महत्व यति धेरै छ कि यसलाई धर्म वा कर्म वा अनुशासनमा सीमाबन्ध गर्न सकिदैन । पुराण अथाह ज्ञान राशी हो । पुराण भित्र ज्ञान विज्ञान, धर्म दर्शन, आयुर्वेद, गणित, ज्योतिष, नीतिशास्त्र, अर्थशास्त्र, आचारशास्त्र, कर्मकाण्ड लगायत सवै ज्ञानभण्डार विद्यमान छ । पुराणभित्र नभएको वस्तु मैले पाएको छैन । यसलाई प्रयोगशालामा पुर्याएर आधुनिक विज्ञानसंग संयोजन गर्नुपर्ने आवश्यकता छ ।

३. पुराण हिन्दुधर्मभन्दा फरक हो कि नितान्त धार्मिक ग्रन्थ हो ?

  • पुराणलाई कुनै पनि धर्म विशेषसंग जोडिएको ग्रन्थका रूपमा लिनु हुँदैन । यो नितान्त मानवधर्मसंग सम्बन्धित वाङ्मय हो । सदाचार, धर्म, अर्थ, ज्ञान विज्ञान, राजनीति–समाजशास्त्र, तर्कशास्त्र, वास्तुशास्त्र आदि विषय पुराणभित्र भएकाले यो सवै वर्ण, धर्म, लिङ्ग, भाषाभाषीको शास्त्र हो । संस्कृतमा लेखिएको कारणले र ऋषिमुनिहरुको ज्ञानलाई उद्घाटन गरेकाले हिन्दु धर्मको ग्रन्थजस्तो देखिएको मात्र हो । वस्तुतः पुराण विश्वकै साझा सम्पत्ति हो, ज्ञान र विज्ञानको उपयोगगर्ने विशिष्ट ज्ञान–शास्त्र हो ।

४. तपाइंले धर्म र हिन्दुत्वसंग जोडिएर लामो समय काम गर्नुभयो, के रहेछ धर्म, के रहेछ हिन्दुत्व ?

  • मेरो दीर्घकालीन अध्ययनमा धर्म भनेको जीवनचर्या हो । यसैले धर्म सर्वत्र विद्यमान हुन्छ । हिन्दुत्व एउटा वर्ग विशेषसंग सम्बन्धित हुन्छ । त्यसैले सीमित हुन्छ र साँघुरो दायरा भित्र वसेको हुन्छ । यसैले धर्म र हिन्दुत्व नितान्त भिन्न विषय हुन् । संसारभरका मानिसहरु कडा वा नरम रुपमा कुनै न कुनै धर्मसंग आवद्ध हुन्छन् । तर सवै जना हिन्दु हुँदैनन् । हिन्दु र सनातनलाई पनि एउटै मान्न मिल्दैन । हिन्दु वर्ग विशेषसंग जोडिएको शब्द हो तर ‘सनातन’ संस्कृतिसंग सम्बद्ध शब्द हो । कसैले ‘हीनान् दूषयतीति’ अर्थात् खरावसंग संगत नगर्ने भन्ने अर्थमा हिन्दु शब्द वनेको भन्ने गर्छन् भने कसैले सिन्ध (क्षेत्र)बाट हिन्द र त्यहाँ वस्नेहरुलाई हिन्दु भनेको पनि पाइन्छ । जे होस्, हिन्दुत्व कुनै जात नभएर सनातन संस्कृतिको नाम हो ।

५. धर्म र अध्यात्ममा के फरक छ ?

  • धर्म भनेको मानिसले लिने विश्वास हो । परम्परा, संस्कृति, प्रचलन, रितिरिवाज पनि धर्म हो । यो हरेकसंग हुन्छ र हरेकको फरक फरक हुन सक्तछ । अध्यात्म भनेको आत्मज्ञानसंग सम्बन्धित छ । पार्थिव शरीर र आत्माको भिन्नतालाई व्याख्यागर्ने शास्त्र वा चिन्तन अध्यात्म हो । रामका पिता श्याम, श्यामका पिता हरि, हरिका पिता कृष्ण इत्यादि भन्दै गर्दा अन्तिममा जो प्रमाणित हुन्छ उही परमात्मा हुन्छ । सांसारिक दृश्य वस्तु अस्थायी हो र स्थायी अविनाशी वस्तु भनेको परमात्मा वा आत्मा हो । सवैमा आत्मा हुन्छ, आत्मा छैन वा हुँदैन भन्नु अज्ञान वा भ्रम मात्र हो भन्ने ज्ञान वा दर्शन अध्यात्म हो ।

६. तपाइंले नेतृत्व गरिरहनुभएको जयतु संस्कृतम् वारे पनि वताइदिनुहोस् ?

  • जयतु संस्कृतम् को अर्थ संस्कृतको जय होस् भन्ने हो । संस्कृत भनेको संस्कार गरिएको वस्तु वा विचार हो । संस्कार गरिएको भनेको मैलो फालिएको धोइएको हो । जसरी धोइएको वस्तुको प्रयोगले साइड इफेक्ट हुँदैन, व्याक्टेरिया वा विकृति आउँदैन त्यसैगरी संस्कृत वस्तुको प्रयोगले सधैं हित नै गर्छ, अहित गर्दैन । संस्कृत भनेको सवैको कल्याण चिताउनु, सवैको हित गर्नु, सवैलाई सहयोग गर्नु हो । सर्वे भवन्तु सुखिनः भन्ने धारणा नै संस्कृत हो । विश्वबन्धुत्व, मित्रता , सद्भाव, परोपकार सवै संस्कृत हो । यो भावनाको विकास गर्ने उद्देश्य जयतु संस्कृतम् को हो ।
    जयतु संस्कृतम् सन् १९४७ तिर नेपालमा संस्कृत पढ्ने विद्यार्थीहरुले चलाएको आन्दोलन हो । त्यतिखेर नेपालमा राणा शासन थियो र सवैलाई शिक्षाको अवसर थिएन । सीमित राणा परिवार शाह परिवार र उनीहरुको नातेदारहरुलाई मात्र पढ्न पाउनेगरी स्थापना गरिएका अत्यन्त सीमित स्कूलहरु थिए । राणाहरुको विरोध गर्दा मृत्यु दण्ड समेत हुने गथ्र्यो । त्यस किसिमको भयावह अवस्थामा संस्कृत पढ्नेहरुले अरु भूगोल, इतिहास, अंग्रेजी आदि पनि पढ्न पाँउनुपर्छ र अरु विषय पढ्ने र पढाउनेहरुले पाए जत्तिमै सेवा सुविधा संस्कृत पढ्ने पढाउनेहरुले पनि पाउनुपर्छ भनेर गरिएको आन्दोदन नै जयतु संस्कृतम् थियो । वस्तुतः शिक्षा क्षेत्रको समग्र विकासको लागि गरिएको यो आन्दोलन नै जनस्तरबाट राणा शासकहरुको विरोधमा भएको पहिले आन्दोदन थियो । यो आन्दोदनले सफलता पाउँदै गर्दा नेपालमा राणा शासनलाई समाप्त गरेर प्रजातन्त्र स्थापनागर्न सकिएको थियो ।
    आन्दोलनको रुपमा रहेको जनबललाई संस्कृत भाषा र वाङमयको प्रचार, प्रसार र विकास गर्ने, अन्तरराष्ट्रिय रुपमा संस्कृतलाई लैजाने समेतका उद्देश्य राखेर सन १९९७ तिर संस्थाको रुपमा विधिवत दर्ता गरेर सञ्चालन गरिदै आएको संस्था नै जयतु संस्कृतम् हो । हाल यो संस्था विश्वव्यापी रुपमा लोक प्रियहुदै गएको संस्कृतलाई अझै व्यापकता दिने, संस्कृतमा भएका ग्रन्थहरुलाई अरु भाषामा अनुवाद गर्ने, संस्कृतलाई लोकभाषाको रुपमा लैजाने, संस्कृत भाषामा वोल्न प्रोत्साहितगर्न संस्कृत सम्भाषण शिविरहरु सञ्चालनगर्ने, अन्तरराष्ट्रिय रुपमा बढ्दै गएको संस्कृतको लोकप्रियता र यस भित्रका ज्ञानविज्ञान, योग, आयुर्वेद, दर्शन, कर्मकाण्ड, साहित्य आदिलाई जनस्तरमा ल्याउने, उत्तर महाभारत लेख्ने, संस्कृतसंग नजिक रहेर कामगर्ने संस्थाहरुसंग सहकार्य गर्ने, अन्तरराष्ट्रिय संस्कृत सम्मेलन गराउने जस्ता कामहरु गरिरहेको छ । संस्कृतको अत्यन्त भरपर्दो भाषागत नियमको आधारमा नासा जस्ता संस्थाहरुले गर्नलागेको अध्ययन, अनुसन्धान, अनुकरण, जस्ता कामहरुको पनि प्रचार र प्रवर्धन गरिरहेको छ ।

७. यो संस्था सामान्य गरिखाने मान्छेसंग कसरी जोडिन्छ ?

  • सोझै हेर्दा यो संस्थाले कसैलाई रोजगारी दिएर सहयोग गर्ने होइन । तर मानवीय मूल्य के हो, म को हूँ, मेरो मानवीय कर्तव्य के हो, म कुन संस्कृतिमा हर्किएको हूँ र समाजको लागि मैले के गर्नुपर्छ भनेर सिकाउने भएकाले जयतु संस्कृतम्को महत्व अत्यन्त गहिरो छ, नाप्न सकिदैन । पशुले पनि परिवार जन्माउछ, खान्छ, तर म समाजको लागि त्यो भन्दा फरक हुनुपर्छ भन्ने सन्देश दिने भएकाले यो संस्थाको महत्व वताउर सकिदैन ।

८. अमेरिकामा वसेर संस्कृतको उत्थानमा लाग्नु भएको छ, यसको महत्व नेपालमा बढी छ, होइन र ?

  • व्यक्ति वा संस्था जुन रुपमा रहदा पनि मेरो उद्देश्य लोक कल्याणगर्नु नै हो । यसैले जहाँ वसे पनि म संस्कृतको सेवा नै गर्छु । संस्कृतको मातृभूमि नेपाल भएकाले तपाइंले महत्व बढी छ भन्नु भएको होला । अमेरिका विश्वकै आकर्षणको देश, धेरै देशका मानिसहरुको वसोवास भएको देश र अनुसन्धान र अध्ययनको लागि सुविधापूर्ण देश समेत भएकाले अमेरिका पनि संस्कृतको विकासको लागि उर्वर छ । यसैले अमेरिकामा पनि जयतु संस्कर्कतम्को शाखा स्थापना गरेर संस्कृतको विकासमा कार्य गर्न थालिएको छ । नेपालमा त शैक्षिक पाठ्यक्रममा समावेशगर्ने, भाषा प्रचार गर्ने, अनुवाद गर्ने, संस्कृतको विकासको लागि सहकार्य गर्ने जस्ता काम भइनै रहेका छन् ।

९ अमेरिका जस्तो करिव ३५० भन्दा बढी भाषा भएको देशमा संस्कृतको स्थान कहाँ छ ?

  • संस्कृत प्राचीन र धेरै किसिमका ज्ञानविज्ञानको भाषा र वाङ्मय भएकाले यसको सम्बन्ध विश्वका सवै भाषा र साहित्यसंग भएको भाषाशास्त्रीहरुको भनाई छ । यसवारे अनुसन्धान पनि भैरहेको छ । अंग्रेजी भाषाको मूल ल्याटिन भाषासंग संस्कृतको सम्बन्ध भएकाले पनि संस्कृतको सम्बन्ध अमेरिकामा खोज्न सजिलो हुन्छ भन्ने ठानेको छु ।

१०. संस्कृतलाई ज्ञानको रुपमा फिजाउने कि चलनचल्तीको भाषाको रुपमा ?

  • संस्कृतलाई तत्काल ज्ञान विज्ञानकै रुपमा लिनुपर्छ । यसलाई चलन चल्तीको भाषाको रुपमा ल्याउने प्रयास नेपालबाट भैरहेको छ । नेपालको जनगणनामा पनि संस्कृतभाषीहरुको संख्या बढाउने प्रयास गरिरहेका छौं ।

११. तपाईंले धर्मलाई योगसंग पनि जोड्नुभएको पाएँ । के छ सम्बन्ध ?

  • योगको सम्बन्ध धर्मसंग भन्दा संस्कृत संग बढी छ । संस्कृतमा भएको ज्ञानविज्ञानसंग योगको सम्बन्ध खोज्दा बढी नजिक पुग्न सकिन्छ । हरेक देशमा गरिने योगका आसनहरुको नाम संस्कृतमै भएकाले पनि योग र संस्कृतको अविभेद्य सम्बन्धलाई स्पष्ट गर्दछ । योग विश्वभरनै ग्राह्य हुँदै गएको छ । हरेक एलोप्याथिक डाक्टरहरुले पनि आफ्ना विरामीलाई शारीरिक र मानसिक स्वस्थताको लागि योगगर्ने सल्लाह दिने गरेको हामी सबैलाई थाहा छ । संयुक्त राष्ट्रसंघले पनि विश्व योग दिवस मनाउन थालिसकेको छ ।

१२. अमेरिकी जीवन शैलीमा योगले कसरी स्थान लिदैछ ?

  • विश्वभर नै योगको महत्व एकाग्रता, चिन्तन, शान्तिसंग जोडने गरिएको र योगलाई मनको मैलो पखालेर चिन्तन शुद्ध वनाउन प्रयोग गरिने उपायको रुपमा लिन थालेको सन्दर्भमा अमेरिकी जीवनशैली परिवर्तनमा पनि अपवाद हुँन सक्तैन भन्ने लाग्दछ ।

१३. योग र अध्यात्मको बीचमा सम्बन्ध छ कि छैन ?

  • अवश्य छ । योग विना अध्यात्मज्ञान अधुरो मात्र होइन, असम्भव नै हुन्छ । अध्यात्मको लागि एकाग्रता र मनःशान्ति अपरिहार्य हुन्छन् भने त्यो एकाग्रता र मनः शान्तिको श्रोत नै योग हो ।

१४. मैले सोध्न छुटाएका र तपाईंलाई भन्न मनलागेका के ही विषय छन् कि ?

  • संस्कृतको महत्व र योगका वारेमा एक पटकमा वा एउटै व्यक्तिबाट व्यक्तगर्न सम्भव हुँदैन । यसमा अनवरत अध्ययन र अभ्यासको आवश्यकता हुन्छ । यसैले म सबैलाई संस्कृतको महत्व बुझ्न र योग गरिरहन अनुरोध गर्दछु । चरैवेति चरैवेति भन्ने संस्कृतको वेदवाक्यलाई प्राक्टिस मेक्स् पर्फेक्ट भन्ने भनाईले प्रमाणित गरिनै रहेको छ । योगलाई जीवनमा नउतारेसम्म यो तथ्यको लाभ लिन सकिदैन । यसैले म सबैलाई योग गर्न अनुरोध गर्दछु।