समाचार

आयात र निर्यात दुबै घट्दा व्यापार घाटा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को नौ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँबराबर वस्तु आयात भएको छ । तर, निर्यात भने साढे १२ अर्ब रुपैयाँमा सीमित छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ । जुन औसत मासिक १ खर्ब २९ अर्ब हुन आउँछ । चैतमा मात्र १ खर्ब ३७ अर्ब १४ करोड रुपैयाँबराबर आयात भएको छ । पछिल्ला केही महिनायता आयात क्रमशः बढ्दै गएको देखिन्छ । फागुनमा १ खर्ब ३३ अर्बको वस्तु आयात भएको थियो । चाडबाडका बेला केही बढेको आयात त्यसपछि खुम्चिन थालेको थियो ।

गत असोजमा १ खर्ब ४८ अर्बको वस्तु आयात भएको थियो । चैतसम्मको तथ्यांकअनुसार आयात २.८४ प्रतिशतले खुम्चिएको छ । गत वर्ष चैतसम्म १२ खर्ब १ अर्बबराबर आयात भएको थियो । यस वर्ष निर्यात औसत मासिक १२ अर्ब ६६ करोडबराबर मात्र भएको छ । तथ्यांकअनुसार नौ महिनामा १ खर्ब १३ अर्ब ९४ करोडबराबर भएको छ । तथ्यांकअनुसार निर्यातको तुलनामा नेपालको आयात आकार ९१ प्रतिशतभन्दा माथि छ । कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१।११ र निर्यात हिस्सा ८.८९ प्रतिशत छ ।

आयात र निर्यात दुवैमा आएको कमीले यस वर्ष कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवैमा कमी आएको छ । भन्सार विभागका अनुसार चैतसम्म कुल वैदेशिक व्यापार १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ छ । यो गत वर्ष यसै अवधिको तुलनामा २।९२ प्रतिशतले कम हो । अघिल्लो वर्ष चैतसम्म १३ खर्ब १९ अर्बबराबर कुल वैदेशिक व्यापार थियो । विभागका अनुसार व्यापार घाटा १० खर्ब ५३ अर्ब छ । यो गत वर्षको यसै अवधिको तुलनामा २.७५ प्रतिशत कम हो । गत वर्ष व्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ कम हो । नौ महिनामा भन्सारले ३ खर्ब ६ अर्बबराबर भन्सार राजस्व उठाएको छ ।